काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनमा सभापति पदका लागि औपचारिक रूपमा उम्मेदवारी दर्ता गराएका छन्।
थापाले मंगलबार साँझ काठमाडौंस्थित राष्ट्रिय सभागृहमा रहेको निर्वाचन समितिको कार्यालय पुगेर सभापति पदका लागि मनोनयनपत्र दर्ता गराएका हुन्।
कांग्रेसको १४औँ महाधिवेशनमा लोकप्रिय मतसहित महामन्त्रीमा निर्वाचित भएका थापाले यसपटक पार्टीको नेतृत्व गर्ने घोषणा गर्दै सभापति पदमा उम्मेदवारी दिएका हुन्।
यसअघि निर्वाचन समितिले सभापति तथा अन्य पदका लागि उम्मेदवारी दर्ता गर्न मंगलबार साँझ ६ बजेसम्मको समय तोकेको थियो। तर, काठमाडौं उपत्यकामा परेको अविरल वर्षा र बढ्दो सवारी चापका कारण मनोनयन दर्ताका लागि आउन लागेका केही उम्मेदवार छुट्न सक्ने अवस्थालाई ध्यानमा राख्दै समितिले समय एक घण्टा थप गरी बेलुकी ७ बजेसम्म पुर्याएको थियो।
पार्टीभित्र पुस्तान्तरण र रूपान्तरणलाई प्रमुख एजेण्डा बनाउँदै आएका थापाले सभापतिमा उम्मेदवारी दर्ता गरेसँगै कांग्रेसको १५औँ महाधिवेशनमा नेतृत्व चयनको प्रक्रिया थप अगाडि बढेको छ।