काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारमाथि पार्टीको केन्द्रीय अनुशासन आयोगले छानबिन सुरु गरेको छ। सुनारसँग सम्बन्धित विवादास्पद अडियो तथा भिडियो सार्वजनिक भएपछि पार्टीले आन्तरिक अनुसन्धान अघि बढाएको हो।
मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै रास्वपाका प्रमुख सचेतक कवीन्द्र बुर्लाकोटीले सुनारमाथि लागेका आरोपबारे पार्टीको संयन्त्रमा छलफल भएपछि विषय अनुशासन आयोगमा पठाइएको जानकारी दिए।
अनुसन्धान पूरा नहुँदासम्म सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिइएको उनले बताए।
‘अनुशासन आयोगले आवश्यक अध्ययन र अनुसन्धान गर्छ। अनुसन्धान टुङ्गोमा नपुग्दासम्म पदीय मर्यादा र पार्टी अनुशासनभित्र रहेर खगेन्द्र सुनारलाई कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन जारी गरिसकिएको छ,’ बुर्लाकोटीले भने।
उनले छानबिन लामो समयसम्म नलम्बिने विश्वास व्यक्त गर्दै अनुसन्धानको गहिराइअनुसार समय लाग्न सक्ने बताए। अनुसन्धानको समयसीमा अहिले नै तोक्न नसकिने उनको भनाइ छ।
सुनारसँग सम्बन्धित विषयमा सार्वजनिक भएका अडियो तथा भिडियोको वास्तविकता जाँच गर्नुपर्ने आवश्यकता रहेको बुर्लाकोटीले बताए। सार्वजनिक सामग्री वास्तविक हुन् वा नक्कली भन्ने विषय अनुसन्धानपछि मात्रै स्पष्ट हुने उनले उल्लेख गरे।
‘जे विषयमा छानबिन हुनुपर्ने हो, त्यो सही हो वा गलत, समस्या छ वा छैन, बाहिर आएको सामग्री अफवाह हो वा अडियो–भिडियो नक्कली हुन् भन्ने कुरा अनुसन्धानबाटै पत्ता लगाउनुपर्छ,’ उनले भने, ‘हामीले हेर्नेबित्तिकै सत्यतथ्य थाहा पाउने भए अनुसन्धान नै गर्नुपर्ने थिएन। अनुसन्धान गर्ने निकायले निष्कर्ष नदिएसम्म हामी प्रतीक्षा गर्छौँ।’
बुर्लाकोटीका अनुसार यो विषय संसदीय गतिविधिभन्दा पार्टीको आन्तरिक अनुशासनसँग सम्बन्धित छ। संसदीय गतिविधिका विषयमा संसदीय दलले काम गर्ने भए पनि पार्टीगत विषयमा पार्टीकै संयन्त्रले आवश्यक प्रक्रिया अघि बढाउने उनले स्पष्ट पारे।
यसअघि कृष्णकुमार कार्कीको विषयमा पार्टीले जानकारी लिएपछि कारबाही गर्नुपर्ने अवस्था नदेखिएको उनले बताए। तर, सुनारको विषयमा केही प्रमाणसहित सामग्री सार्वजनिक भएकाले त्यसको सत्यता जाँच गर्नुपर्ने अवस्था आएको उनको भनाइ छ।
अनुसन्धानबाट सुनार दोषी देखिए कारबाही हुने र गल्ती नभएको पुष्टि भए कुनै कारबाही नहुने बुर्लाकोटीले स्पष्ट पारे।
‘गल्ती छैन भने केही पनि हुँदैन, गल्ती छ भने कारबाही हुन्छ। अहिले भन्ने यत्ति नै हो,’ उनले भने।