कांग्रेस सहमहामन्त्री अजयबाबु शिवाकोटीलाई साइबर ब्युरोले बोलायो

कांग्रेस सहमहामन्त्री अजयबाबु शिवाकोटीलाई साइबर ब्युरोले बोलायो

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीलाई नेपाल प्रहरीको साइबर ब्युरोले बोलाएको छ। काठमाडौँबाहिर धार्मिक यात्रामा रहेका शिवाकोटीलाई फोनमार्फत सम्पर्क गरी ब्युरोमा उपस्थित हुन भनिएको हो।

शिवाकोटीले आफू साइबर ब्युरो जाने बताएका छन्। बालेन नेतृत्वको सरकारले डर र त्रास देखाएर सत्ता सञ्चालन गर्न खोजेको आरोप लगाउँदै उनले आफू नडराउने प्रतिक्रिया दिएका छन्।

बिहीबार बिहान सामाजिक सञ्जालमार्फत उनले सरकारको भय र भ्रमबाट विचलित नहुने बताएका छन्। आफूलाई प्रहरीले खोज्न आवश्यक नरहेको भन्दै काठमाडौँ फर्किरहेको जानकारीसमेत दिएका छन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सरकार तिम्रो भय र पारेको भ्रमले विचलित हुन्न, प्रहरी लगाएर खोज्नु पर्दैन, काठमाडौँ आउँदैछु।’

शिवाकोटीले पछिल्ला केही दिनदेखि सरकारले विधि र विधान मिचेर काम गरिरहेको तथा नेपाली कांग्रेसलाई अनावश्यक विवादमा फसाउन खोजेको आरोप लगाउँदै आएका छन्।

ब्युरो स्रोतका अनुसार पत्रकार रोशन खड्काले दिएको उजुरीका आधारमा शिवाकोटीलाई उपस्थित हुन भनिएको हो।

लिङ्क सफलतापूर्वक कापि गरियो!