कांग्रेसले यसपटक कोजाग्रत पूर्णिमाको चियापान कार्यक्रम स्थगित गर्‍यो

कांग्रेसले यसपटक कोजाग्रत पूर्णिमाको चियापान कार्यक्रम स्थगित गर्‍यो

काठमाडौँ । नेपाली कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमाका अवसरमा आयोजना गर्दै आएको परम्परागत चियापान कार्यक्रम स्थगित गरेको छ। देशका विभिन्न क्षेत्रमा बाढीपहिरोका कारण ठूलो जनधनको क्षति हुनुका साथै शोकको अवस्था रहेकाले कार्यक्रम नगर्ने निर्णय गरिएको पार्टीले जनाएको छ।

कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार भोटेकोशी र बूढीगण्डकी नदीमा आएको बाढीका कारण ठूलो संख्यामा मानिसको मृत्यु तथा बेपत्ता हुनुका साथै जनधनको क्षति भएको छ। यस्तो दुःखद् परिस्थितिमा चियापान कार्यक्रम आयोजना नगर्ने निर्णय गरिएको उनले जानकारी दिए।

कांग्रेसले बाढीपहिरोबाट प्रभावित परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै यस दुःखद् घडीमा प्रभावित नागरिकसँग ऐक्यबद्धता जनाएको छ।

कांग्रेसले कोजाग्रत पूर्णिमाका दिन चियापान समारोह आयोजना गर्दै आएको छ। पार्टीका संस्थापक नेता बिपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर २०३३ साल पुस १६ गते स्वदेश फर्किएपछि आपसी सद्भाव र मेलमिलाप अभिवृद्धि गर्ने उद्देश्यले २०३४ सालदेखि चियापान कार्यक्रम सुरु गरिएको थियो।

यसैबीच, कांग्रेस सभापति गगनकुमार थापाले चाडपर्व मनाउँदा भड्किलो शैली अपनाउनुभन्दा शान्त र संयमित रूपमा परिवारमै सीमित रहेर मनाउन सबैलाई आग्रह गरेका छन्।

लिङ्क सफलतापूर्वक कापि गरियो!