काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय महामन्त्री पदको मतगणना सम्पन्न भएको छ। अन्तिम परिणामअनुसार खुला महामन्त्रीतर्फ प्रदीप पौडेल र उदयशमशेर राणा निर्वाचित भएका छन् भने महिला महामन्त्रीतर्फ डा. डिला संग्रौला (पन्त) विजयी भएकी छन्।
ललितपुरको सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा सम्पन्न मतगणनामा खुला महामन्त्रीका दुई पदका लागि भएको प्रतिस्पर्धामा प्रदीप पौडेल सर्वाधिक ४ हजार १९४ मत प्राप्त गर्दै पहिलो स्थानमा विजयी भएका हुन्। उदयशमशेर राणा २ हजार ३३० मत प्राप्त गरी निर्वाचित भएका छन्।
खुला महामन्त्रीतर्फ डा. सुनिलकुमार शर्माले २ हजार २५७, गुरुराज घिमिरेले १ हजार ५१३, नैनसिंह महरले १ हजार १३४, अमरसिंह पुनले १ हजार १२५, शंकर तिवारीले १२३ र डा. सन्तोष उपाध्यायले ९७ मत प्राप्त गरेका छन्।
महिला महामन्त्रीको एक पदमा डा. डिला संग्रौला (पन्त) ३ हजार ११८ मत प्राप्त गरी विजयी भएकी छन्। उनकी प्रतिस्पर्धी महालक्ष्मी उपाध्याय (डिना) ले २ हजार ८६४ मत प्राप्त गर्दा रीता खनालले ८०४ मत पाएकी छन्।
यसअघि नै महाधिवेशनबाट खुला उपसभापतितर्फ डा. चन्द्रकान्त भण्डारी र इन्जिनियर मधु आचार्य तथा समावेशी उपसभापतितर्फ विनोदकुमार चौधरी निर्वाचित भइसकेका छन्।
महामन्त्री पदको अन्तिम नतिजा सार्वजनिक भएसँगै नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नयाँ पदाधिकारी चयन प्रक्रिया अन्तिम चरणमा पुगेको छ।