काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पदाधिकारी पदमा उम्मेदवारी दिएका चार जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।
मङ्गलबार उम्मेदवारी दर्ता गराएका उनीहरूले निर्वाचन समितिले बुधबार उम्मेदवारी फिर्ताका लागि तोकेको समयभित्र आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन्।
उम्मेदवारी फिर्ता लिनेमा एक सभापति, दुई खुला उपसभापति र एक दलित क्लस्टरतर्फका सहमहामन्त्रीका उम्मेदवार रहेका छन्।
सभापतिका उम्मेदवार किशोरसिंह राठौरले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको छ। यससँगै सभापति पदमा अब गगनकुमार थापा र श्यामकृष्ण खड्गीबीच प्रतिस्पर्धा हुने भएको छ।
त्यस्तै, खुलातर्फ उपसभापतिका उम्मेदवार डा. मिनेन्द्र रिजाल र देवराज चालिसेले पनि उम्मेदवारी फिर्ता लिनुभएको छ।
दलित क्लस्टरतर्फ सहमहामन्त्री पदमा उम्मेदवारी दिनुभएकी लक्ष्मी परियारले समेत आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको छ।
यसअघि कांग्रेसको नयाँ कार्यसमितिका लागि हुने निर्वाचनमा वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा, महिलातर्फ उपसभापतिमा पुष्पा भुसाल र काठमाडौँ उपत्यका महिला सदस्यतर्फ प्रा.डा. अमिता प्रधान शाक्य निर्विरोध निर्वाचित भइसकेका छन्।
निर्वाचन समितिले बुधबार राति नयाँ कार्यसमितिका लागि उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गरेको छ। सभापतिसहित बाँकी पदमा प्रतिस्पर्धा हुने भएको छ।
कांग्रेस केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान सुरु हुने निर्वाचन कार्यतालिका रहेको छ।