कांग्रेस महाधिवेशनको तेस्रो दिन आज उम्मेदवारी दर्ता, निर्वाचन प्रक्रिया अघि बढ्दै

कांग्रेस महाधिवेशनको तेस्रो दिन आज उम्मेदवारी दर्ता, निर्वाचन प्रक्रिया अघि बढ्दै

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (मंगलबार) तेस्रो दिन पनि जारी छ। महाधिवेशनअन्तर्गत आज केन्द्रीय कार्यसमितिका विभिन्न पदका लागि निर्वाचन प्रक्रिया अघि बढाइने भएको छ।

निर्वाचन कार्यतालिकाअनुसार आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारहरूले मनोनयनपत्र दर्ता गर्न सक्नेछन्। सभापति, उपसभापति, महामन्त्रीलगायत केन्द्रीय कार्यसमितिका विभिन्न पदमा उम्मेदवारी दर्ता हुनेछ।

मनोनयनपत्र दर्ताको समय सकिएपछि दिउँसो ४ः३० बजे उम्मेदवारहरूको प्रथम नामावली प्रकाशन गरिनेछ। त्यसपछि उम्मेदवार तथा प्रतिनिधिहरूलाई नामावलीमाथि दाबी–विरोधका लागि ४ः३० देखि ५ः३० बजेसम्मको समय दिइएको छ।

दाबी–विरोधको प्रक्रिया सकिएपछि निर्वाचन समितिले उम्मेदवारीसम्बन्धी कागजात तथा दाबी–विरोधमाथि जाँचबुझ गर्नेछ। जाँचबुझका लागि साँझ ५ः३० देखि ६ः३० बजेसम्मको समय तोकिएको छ।

जाँचबुझपछि साँझ ७ बजे उम्मेदवारहरूको दोस्रो नामावली प्रकाशन गरिने निर्वाचन कार्यतालिकामा उल्लेख छ। त्यससँगै निर्वाचनमा सहभागी हुने उम्मेदवारहरूको अन्तिम सूची तयार पार्ने प्रक्रिया अघि बढ्नेछ।

महाधिवेशनको तेस्रो दिन निर्वाचन प्रक्रिया मुख्य केन्द्रमा रहेकाले कांग्रेसभित्र विभिन्न पदमा उम्मेदवारी दिने नेताहरूको सक्रियता बढेको छ। सभापतिसहित पदाधिकारी र केन्द्रीय सदस्यका लागि आकांक्षी नेताहरूले आफ्नो पक्षमा प्रतिनिधिहरूको समर्थन जुटाउने प्रयाससमेत तीव्र बनाएका छन्।

लिङ्क सफलतापूर्वक कापि गरियो!