काठमाडौँ । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज उम्मेदवारी मनोनयन दर्ता प्रक्रिया सुरु हुँदैछ। केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको संशोधित निर्वाचन कार्यतालिकाअनुसार आज दिउँसो १२ः३० बजेदेखि उम्मेदवारी मनोनयन दर्ता सुरु हुने भएको हो।
निर्वाचन समितिका अनुसार केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता दिउँसो १२ः३० बजेदेखि बेलुकी ४ः०० बजेसम्म गर्न सकिनेछ।
त्यसअघि आज बिहान मतदाता नामावलीमाथि दाबी–विरोध तथा त्यसउपर जाँचबुझको प्रक्रिया पूरा गरिनेछ। संशोधित कार्यतालिकाअनुसार बिहान ९ः३० बजेसम्म मतदाता नामावलीमाथि दाबी–विरोध गर्न सकिनेछ। त्यसपछि ९ः३० देखि १०ः३० बजेसम्म दाबी–विरोधमाथि जाँचबुझ गरिनेछ।
जाँचबुझको प्रक्रिया सम्पन्न भएपछि बिहान ११ः३० बजे मतदाताको अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन समितिले जनाएको छ।
मतदाताको अन्तिम नामावली प्रकाशनपछि दिउँसोबाट केन्द्रीय कार्यसमितिका विभिन्न पदका लागि उम्मेदवारी मनोनयन दर्ता हुनेछ। सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री तथा केन्द्रीय सदस्यलगायत पदमा उम्मेदवारी दिने नेताहरूले निर्धारित समयभित्र मनोनयन दर्ता गर्नुपर्नेछ।
नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार महाधिवेशनका अन्य कार्यक्रमहरू भने संशोधित कार्यतालिकाअनुसार यथावत् सञ्चालन हुनेछन्।
नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता सुरु भएसँगै कांग्रेस महाधिवेशनको निर्वाचन प्रक्रिया थप निर्णायक चरणमा प्रवेश गर्नेछ।