काठमाडौं । नेपाली कांग्रेसभित्र १५औँ महाधिवेशनको मितिलाई लिएर आन्तरिक विवाद बढिरहेका बेला संस्थापन इतर पक्षले नयाँ कार्यतालिका सार्वजनिक गरेको छ। इतर पक्षले आगामी मंसिर २१, २२ र २३ गते केन्द्रीय महाधिवेशन गर्ने प्रस्ताव अघि सार्दै असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गर्ने घोषणा गरेको हो।
शनिबार चुनदेवीस्थित सम्पर्क कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस नेता डा. प्रकाशशरण महतले महाधिवेशनको तयारीबारे जानकारी गराएका हुन्। उनले एकताको महाधिवेशनका लागि अन्तिम समयसम्म प्रयास गरिए पनि सहमति जुट्न नसकेपछि छोटो समयमै अधिवेशन सम्पन्न गर्नुपर्ने अवस्था आएको बताए।
हालैको भारी वर्षाका कारण केही व्यवस्थापकीय तयारीमा ढिलाइ भए पनि केन्द्रीय कार्यालयबाट गर्नुपर्ने कामहरू तीव्र गतिमा भइरहेको महतले जानकारी दिए। महाधिवेशन सम्पन्न गर्न स्थानीय वकिल, पूर्वशिक्षक तथा निर्वाचन सञ्चालनको अनुभव भएका व्यक्तिहरूको सहयोग लिइने उनले बताए।
नवीकरण भएका तथा नयाँ क्रियाशील सदस्यहरूको विवरण अनलाइनमार्फत जिल्ला हुँदै वडा तहसम्म पठाइनेछ। सदस्यता सूचीमा छुटेका व्यक्तिहरूले आवश्यक प्रक्रिया पूरा गरी असोज १५ गतेभित्र सदस्यता प्राप्त गर्न सक्ने व्यवस्था मिलाइने जनाइएको छ।
निर्वाचन अधिकृतहरू एक–दुई दिनभित्र सम्बन्धित जिल्लामा पुग्ने महतले बताए। वर्षा वा अन्य प्रतिकूल परिस्थितिका कारण कुनै वडामा असोज १५ गते अधिवेशन सम्पन्न हुन नसकेमा जिल्ला संयोजन समिति र जिल्ला समितिसँगको समन्वयमा असोज १६ वा १७ गतेसम्म अधिवेशन गर्न सकिने व्यवस्था गरिएको छ।
कांग्रेसभित्र अहिले महाधिवेशनको मितिलाई लिएर दुई फरक कार्यतालिका अघि सारिएका छन्। संस्थापन पक्षले असोज १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका अघि बढाएको छ भने संस्थापन इतर पक्षले मंसिर २१ देखि २३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ।