काठमाडौं । नेपाली कांग्रेसले आफ्नो १५औँ महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई औपचारिक निमन्त्रणा दिएको छ।
कांग्रेस सचिवालय व्यवस्थापन तथा सूचना समन्वय समितिका संयोजक एवं सहमहामन्त्री उदयशमशेर राणाले तीनै नेतासँग भेट गरी महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन निमन्त्रणा दिएका हुन्।
कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोह असोज १६ गते काठमाडौंको खुलामञ्चमा आयोजना हुँदैछ। कांग्रेसले उद्घाटन समारोहमा सहभागी हुन विभिन्न राजनीतिक दलका प्रतिनिधि, नेता–कार्यकर्ता, शुभेच्छुक तथा आम नागरिकलाई समेत आग्रह गरेको छ।
कांग्रेसको १५औँ महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा आयोजना हुँदैछ।