काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापा पार्टी सभापतिमा निर्वाचित भएका छन्। सभापति पदका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीलाई पराजित गर्दै थापाले पार्टीको नेतृत्व सम्हाल्ने जिम्मेवारी प्राप्त गरेका हुन्।
अन्तिम मतपरिणामअनुसार थापाले ६ हजार ५८४ मत प्राप्त गर्दा खड्गीले ३७५ मत पाएका छन्। निर्वाचनमा ५४ मत बदर भएको थियो।
कुल ७ हजार ३१७ महाधिवेशन प्रतिनिधिमध्ये ७ हजार ३९ जनाले मतदान गरेका थिए। सभापति पदको मतगणना सम्पन्न भएसँगै थापाको जित सुनिश्चित भएको हो।
सभापति पदको मतगणना सम्पन्न भए पनि पार्टीका अन्य पदाधिकारी तथा केन्द्रीय सदस्य पदको मतगणना भने कांग्रेस केन्द्रीय कार्यालय सानेपामा गरिने जनाइएको छ। अन्य पदको मतपरिणाम सार्वजनिक भएसँगै पार्टीको नयाँ केन्द्रीय नेतृत्वको संरचना पनि स्पष्ट हुनेछ।
सभापतिमा निर्वाचित थापासामु पार्टीलाई थप सुदृढ बनाउने, संगठन विस्तार गर्ने, नेता तथा कार्यकर्ताबीच एकता कायम गर्ने र बदलिँदो राजनीतिक परिस्थितिमा कांग्रेसको भूमिका प्रभावकारी बनाउने चुनौती रहनेछ।