कांग्रेसको १५औँ महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि मतदान सुरु, ७ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुँदै

कांग्रेसको १५औँ महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि मतदान सुरु, ७ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुँदै

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज बिहान ७ बजेदेखि मतदान सुरु हुँदैछ। मतदानका लागि महाधिवेशन प्रतिनिधिहरू बिहानैदेखि लाइनमा लागेका छन्।

हिजो मतदान गर्न नपाएका प्रतिनिधिहरू आज मतदान हुने भएपछि उत्साहित भएका छन्। टाढाबाट आएका कतिपय प्रतिनिधि मतदान गरेर दसैँ मनाउन घर फर्कने तयारीमा छन्। मतदानको नयाँ तालिकाले महाधिवेशन प्रतिनिधिमा पुनः उत्साह थपेको छ।

खराब मौसम, प्राविधिक समस्या तथा मतदानमा ढिलाइ हुँदा रातिको समयमा प्रतिनिधिहरूलाई असहज हुने देखिएपछि हिजो अपराह्नदेखि सुरु गर्ने भनिएको मतदान आज बिहानका लागि सारिएको निर्वाचन समितिले जनाएको छ।

निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार बिहान ७ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ। उनका अनुसार महाधिवेशनमा ७ हजार ३१७ प्रतिनिधि रहेका छन्।

निर्वाचन समिति संयोजक तथा वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले मतदानका लागि आवश्यक तयारी पूरा भएको बताए। साँझ मतदान सुरु गर्दा रातभर प्रतिनिधिहरूलाई असहज हुने भएकाले बिहानदेखि मतदान गर्ने व्यवस्था मिलाइएको उनको भनाइ छ।

मतपत्रको सङ्ख्या धेरै हुनुका साथै उम्मेदवार र मतदाताको सङ्ख्या बढी भएकाले छपाइमा ढिलाइ भएको थियो। संयोजक खड्काका अनुसार मतपत्रमा हस्ताक्षर गर्न उनीसहित ३२ जना वरिष्ठ अधिवक्ता खटिएका छन्।

महाधिवेशन प्रतिनिधिको बसाइ र खानाको खर्च पार्टीले बेहोर्ने

महाधिवेशन एक दिन लम्बिएपछि शुक्रबारको होटल बसाइ तथा खानाको खर्च पार्टीले नै बेहोर्ने भएको छ। आर्थिक व्यवस्थापन समितिका संयोजक उमेश श्रेष्ठले महाधिवेशन प्रतिनिधिहरूको अतिरिक्त खर्च पार्टीले व्यहोर्ने जानकारी दिएका छन्।

कुन प्रदेशका प्रतिनिधिले कहाँ मतदान गर्ने?

निर्वाचन समितिले प्रतिनिधिहरूको सहजताका लागि प्रदेश तथा समूहअनुसार विभिन्न मतदान केन्द्र निर्धारण गरेको छ। प्रतिनिधिहरूले आफूलाई तोकिएको केन्द्रमा पुगेर मतदान गर्नुपर्नेछ।

मतदान केन्द्र मतदान गर्ने प्रतिनिधि
राष्ट्रिय सभा गृह, केन्द्र ‘क’ बागमती प्रदेश
खुलामञ्च, केन्द्र ‘ख’ कोशी प्रदेश तथा तराई–मधेस समूह
हिमाल हल गण्डकी प्रदेश
तराई–मधेस हल मधेश प्रदेश
पहाड हल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश तथा नेपाली जनसम्पर्क समिति र भ्रातृ संस्थातर्फका प्रतिनिधि

परिचयपत्र र मतदाता नामावली रुजु गरिने

निर्वाचन समितिका अनुसार मतदानस्थलमा प्रवेश गरेपछि प्रतिनिधिहरूले आफूलाई तोकिएको मतदान केन्द्रमा जानुपर्नेछ। मतदान गर्नुअघि प्रत्येक प्रतिनिधिको परिचयपत्र र मतदाता नामावली रुजु गरिनेछ। रुजु प्रक्रिया पूरा भएपछि मात्रै मतदान गर्न पाइनेछ।

त्यस्तै, निर्वाचन आचारसंहिताले निषेध गरेका मोबाइल फोनलगायतका सामग्री मतदानस्थलमा लैजान नपाइने समितिले जनाएको छ। प्रतिनिधिहरूले तोकिएको प्रक्रिया पूरा गरेर मात्रै मतदान गर्नुपर्नेछ।

उम्मेदवारी प्रक्रिया पूरा, आज नयाँ नेतृत्व चयन

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी दर्ता, दाबी–विरोध तथा उम्मेदवारी फिर्ताको प्रक्रिया पूरा भइसकेको छ। निर्वाचन समितिले उम्मेदवारहरूको अन्तिम नामावलीसमेत सार्वजनिक गरिसकेको छ।

मतदानबाट सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री तथा विभिन्न समूहका केन्द्रीय सदस्य चयन हुनेछन्। प्रतिनिधिहरूले सम्बन्धित पदका लागि छुट्टाछुट्टै मतपत्रमा मतदान गर्नेछन्।

मतदानपछि मतगणना

मतदान सम्पन्न भएपछि मतपेटिकालाई सुरक्षित रूपमा व्यवस्थापन गरी आवश्यक प्रक्रिया पूरा गरेर मतगणना सुरु गरिने निर्वाचन समितिले जनाएको छ। मतगणना सकिएपछि निर्वाचन परिणाम सार्वजनिक गरिनेछ।

महाधिवेशनबाट संशोधित विधानअनुसार नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति २७ सदस्यीय बनाइएको छ। नयाँ संरचनाअनुसार निर्वाचित हुने पदाधिकारी तथा केन्द्रीय सदस्यले आगामी कार्यकालका लागि पार्टीको नेतृत्व सम्हाल्नेछन्।

सभापतिसहित प्रमुख पदमा प्रतिस्पर्धा रहेकाले आजको मतदानलाई कांग्रेसको नयाँ नेतृत्व चयनका लागि महत्त्वपूर्ण मानिएको छ। मतदानको परिणामले पार्टीको आगामी राजनीतिक दिशा र सङ्गठनात्मक नेतृत्व निर्धारण गर्नेछ।

लिङ्क सफलतापूर्वक कापि गरियो!