काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी महासचिव शंकर पोखरेलसँग आफ्नो सम्बन्धमा दरार आएको भन्ने चर्चालाई निराधार भन्दै खारेज गरेका छन् ।
ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले पार्टीको शीर्ष नेतृत्वबीच कुनै मनमुटाव नरहेको स्पष्ट पारेका हुन् ।
पछिल्ला केही दिनयता एमाले तथा राजनीतिक वृत्तमा ओली र पोखरेलबीच असमझदारी बढेको र संवादसमेत टुटेको भन्ने चर्चा हुँदै आएको थियो । बैठकपछि पत्रकारहरूले यसबारे जिज्ञासा राख्दा ओलीले त्यस्ता चर्चामा कुनै सत्यता नरहेको दाबी गरे ।
महासचिव पोखरेलले अध्यक्ष ओलीको फोनसमेत नउठाएको भन्ने चर्चाबारे सोधिएको प्रश्नमा ओलीले फोन नउठाउँदैमा सम्बन्धमा समस्या रहेको निष्कर्ष निकाल्न नमिल्ने बताए ।
‘बिल्कुलै सत्यता छैन। उहाँले फोनसमेत उठाउनुभएन भन्ने कुरा पनि सुनियो। तर यस्ता कुरालाई अनावश्यक रूपमा विवादको विषय बनाउनु उचित हुँदैन। उहाँसँग मेरो कुनै मनमुटाव छैन,’ ओलीले भने ।
अध्यक्ष ओलीले राजनीतिक विचार र जिम्मेवारीमा फरक हुन सक्ने भए पनि त्यसलाई व्यक्तिगत सम्बन्धसँग जोडेर हेर्न नहुने बताए । उनले पार्टी सञ्चालन तथा नीतिगत विषयमा शीर्ष नेतृत्वबीच समन्वय र संवाद कायम रहेको दाबीसमेत गरे ।