काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमाथिको घेराबन्दी अझै कायम रहेको बताउँदै बलजफ्ती र दमन भए त्यसको प्रतिवाद गर्ने चेतावनी दिएका छन्। उनले आगामी चुनौतीहरूको दृढतापूर्वक सामना गर्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्।
सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित केन्द्रीय सदस्यहरूको शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै ओलीले लोकतन्त्र, स्वाधीनता र स्वतन्त्रताको पुनःप्राप्ति अहिलेको अनिवार्य आवश्यकता भएको बताए।
‘लोकतन्त्र मासिएको छ र स्वाधीनता तथा स्वतन्त्रतालाई कमजोर बनाइएको छ। यी कुराको पुनःप्राप्ति गर्नु अहिलेको अनिवार्य सर्त हो,’ उनले भने, ‘हामी यसको पुनःप्राप्तिका लागि प्रतिबद्ध छौँ। यदि फेरि पनि बलजफ्ती र दमन गरिन्छ भने त्यसलाई अस्वीकार गरेर हामी प्रतिवादमा उत्रिनेछौँ।’
ओलीले समाज शान्तिको पक्षमा उभिनुपर्ने उल्लेख गर्दै निहत्था जनतामाथि हतियार र संगठित बल प्रयोग गरेर दबाउन खोजिए चुप लागेर बस्न नहुने बताए।
‘आगो लगाउनु वा लुटपाट गर्नु आन्दोलन होइन। आन्दोलन भनेको ठूलो र बलियोले कमजोरमाथि गर्ने बलजफ्तीको प्रतिवाद गर्नु हो,’ उनले भने।
उनले आगामी निर्वाचनमा पनि एमालेविरुद्ध विभिन्न प्रकारका घेराबन्दी हुन सक्ने दाबी गरे। विगतमा पनि पार्टीले चौतर्फी घेराबन्दीको सामना गरेको उल्लेख गर्दै ओलीले जस्तोसुकै परिस्थिति आए पनि एमाले दृढताका साथ अघि बढ्ने बताए।