काठमाडौं । नेकपा (एमाले) को सक्रिय राजनीतिमा औपचारिक पुनरागमन गरेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज चीनको औपचारिक भ्रमणमा जाँदै छिन् । पार्टीको वरिष्ठ सम्मानित नेताका रूपमा मनोनीत भएपछि उनको यो पहिलो विदेश भ्रमण हो ।
चीनको हप्बे प्रदेशस्थित स्योङआन नयाँ क्षेत्रमा आयोजना हुने ‘ग्लोबल गभर्नेन्स फोरम २०२६’ मा सहभागी हुन पूर्वराष्ट्रपति भण्डारीको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल चीन जान लागेको हो ।
भ्रमणका क्रममा फोरममा बदलिँदो विश्व व्यवस्था, अन्तर्राष्ट्रिय सहकार्य, विश्वव्यापी शासन प्रणालीमा सुधार तथा प्रविधिका नयाँ चुनौतीलगायत विषयमा छलफल हुनेछ ।
यसका साथै नेपाली प्रतिनिधिमण्डलले चीनको आधुनिक नमुना सहरका रूपमा विकास भइरहेको स्योङआनको अवलोकन गर्ने कार्यक्रम छ । प्रतिनिधिमण्डलले बेइजिङमा चिनियाँ कम्युनिस्ट पार्टीका वरिष्ठ नेताहरूसँग भेटवार्ता गरी द्विपक्षीय हित र आपसी सम्बन्धका विषयमा छलफल गर्ने जनाइएको छ ।
एमालेको सक्रिय राजनीतिमा पुनरागमन गरेलगत्तै हुन लागेको भण्डारीको चीन भ्रमणलाई राजनीतिक तथा कूटनीतिक वृत्तमा चासोका साथ हेरिएको छ ।