एमालेमा नेतृत्वको सार्वजनिक आलोचना गरे कारबाही हुने, ओलीले पठाए अन्तरपार्टी निर्देशन

एमालेमा नेतृत्वको सार्वजनिक आलोचना गरे कारबाही हुने, ओलीले पठाए अन्तरपार्टी निर्देशन

काठमाडौँ । नेकपा (एमाले) ले पार्टीको नीति, निर्णय र नेतृत्वको सार्वजनिक आलोचना वा विरोध गर्ने नेता–कार्यकर्तामाथि अनुशासनात्मक कारबाही गर्ने भएको छ।

असोज ८ गते सम्पन्न तेस्रो केन्द्रीय कमिटी बैठकका निर्णयअनुसार एमालेले पार्टी पङ्क्तिलाई अन्तरपार्टी निर्देशन (अपानि) जारी गर्दै पार्टी नीति, निर्णय र नेतृत्वविरुद्ध सार्वजनिक रूपमा प्रश्न उठाउने, आलोचना गर्ने वा विरोध गर्ने गतिविधिलाई अनुशासनको विषय बनाउने जनाएको हो।

अध्यक्ष केपी शर्मा ओलीले असोज १८ गते हस्ताक्षर गरी जारी गरेको अपानिमा पार्टीभित्र बढ्दै गएको स्वेच्छाचारिता, अराजकता र अनुशासनहीनता अन्त्य गरी एकताबद्ध र सुदृढ पार्टी निर्माण गर्न यस्तो व्यवस्था गरिएको उल्लेख छ।

अपानिमा पार्टीको नीति, निर्णय र नेतृत्वविरुद्ध सार्वजनिक रूपमा आलोचना वा विरोध गर्ने, गुटबन्दी गर्ने तथा अराजक वा अनुशासनहीन गतिविधि गर्ने प्रवृत्तिमा पूर्णरूपमा रोक लगाउने उल्लेख छ।

ओलीले यसअघि भएका गतिविधिलाई भने तत्कालका लागि नउठाउने संकेत गरेका छन्। अपानिमा उनले केन्द्रीय कमिटीको चालू बैठकलाई ‘कटअफ बैठक’ मानेर त्यसअघिका गतिविधिलाई छोडिदिने उल्लेख गरेका छन्।

अबदेखि पार्टी नीति, निर्णय र नेतृत्वविरुद्ध सार्वजनिक रूपमा आलोचना, विरोध, निन्दा वा अपमान गर्ने, गुटबन्दी गर्ने अथवा अराजक तथा अनुशासनहीन गतिविधि गर्ने नेता–कार्यकर्तालाई स्पष्टीकरण सोधेर कारबाही गर्ने निर्देशन दिइएको छ।

पार्टी पुनर्गठनको बहसपछि कडा निर्देशन

एमालेमा पछिल्लो समय पार्टी पुनर्गठन र नेतृत्व परिवर्तनबारे बहस चलिरहेको छ। केही नेता–कार्यकर्ताले पार्टी कमजोर हुनु तथा निर्वाचनमा अपेक्षित परिणाम नआउनुको कारण नेतृत्वसँग जोडेर सार्वजनिक अभिव्यक्ति दिँदै आएका थिए।

उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको पार्टी पुनर्गठन कार्यदलले सातै प्रदेशमा पुगेर गरेको छलफल तथा तयार पारेको प्रतिवेदनमा समेत पार्टी नेतृत्व परिवर्तनसम्बन्धी सुझाव समेटिएको थियो।

त्यसपछि पार्टीभित्र बढेको सार्वजनिक बहसलाई नियन्त्रण गर्दै संगठनात्मक अनुशासन कायम गर्ने उद्देश्यले नयाँ निर्देशन जारी गरिएको एमालेले जनाएको छ।

पुस्तान्तरण प्रणालीमार्फत गर्ने एमालेको दाबी

एमालेले नेतृत्वमा पुस्तान्तरणलाई केवल घोषणामा सीमित नराखी संगठनात्मक प्रणालीमै विकास गर्ने जनाएको छ।

अपानिमा युवा नेतृत्व विकासका लागि प्रशिक्षण, वैचारिक शिक्षण, जनसम्पर्क, स्थानीय समस्या समाधानको अभ्यास, डिजिटल सञ्चारको दक्षता, नीति निर्माणमा सहभागिता, संगठन सञ्चालनको अवसर तथा चुनावी मैदानमा परीक्षणजस्ता विषयलाई प्राथमिकतामा राखिएको छ।

एमालेले युवा नेतृत्व केवल कोटाबाट नभई जिम्मेवारीबाट विकास हुनुपर्ने धारणा अघि सारेको छ।

महिला नेतृत्वलाई पनि यही प्रक्रियासँग जोड्दै पार्टीको आधुनिकीकरणका लागि महिलालाई प्रतीकात्मक प्रतिनिधित्वमा मात्र सीमित नगरी महत्वपूर्ण जिम्मेवारी दिनुपर्ने उल्लेख गरिएको छ।

विद्यादेवी भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी

एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई अध्यक्षपछिको वरीयतासहित वरिष्ठ नेताको जिम्मेवारी दिने निर्णय गरेको छ। भण्डारीलाई दोस्रो वरीयता दिएर सक्रिय राजनीतिमा फर्कने बाटो खोलिएको एमालेको भनाइ छ।

स्थानीय तहदेखि केन्द्रीय नेतृत्वसम्म युवा तथा महिला नेतृत्व विकासको योजनाबद्ध प्रक्रिया अघि बढाउनुपर्ने एमालेले जनाएको छ।

अपानिमा युवा र महिला नेतृत्वलाई केवल औपचारिक वा प्रतीकात्मक भूमिकामा सीमित नगरी कठिन जिम्मेवारीमा सहभागी गराउनुपर्ने उल्लेख गरिएको छ।

‘रूपान्तरण हुन्छ, तर विचार र इतिहास कमजोर बनाइँदैन’

एमालेले पार्टी रूपान्तरणको प्रक्रियामा विचार र इतिहासलाई कमजोर बनाउन नहुने स्पष्ट गरेको छ।

अपानिमा भनिएको छ, पार्टीमा रूपान्तरण हुने तर विचार र इतिहास कमजोर नबनाउने, नेतृत्व हस्तान्तरण हुने तर पार्टीलाई अनिश्चिततामा नधकेल्ने तथा पुस्तान्तरण हुने तर पुस्ताबीच अविश्वास नरोप्ने नीति लिइनेछ।

एमालेका अनुसार नेतृत्व हस्तान्तरण सम्मान, विधि, तयारी, प्रशिक्षण, जिम्मेवारी र संगठनात्मक अनुशासनका आधारमा हुनुपर्छ।

‘नेतृत्व हस्तान्तरण हुन्छ, तर विधिसम्मत हुनुपर्छ’

युवा पुस्तामा नेतृत्व हस्तान्तरणको बहस चलिरहेका बेला एमालेले तत्काल नेतृत्व हस्तान्तरणका लागि समय र पात्र तयार भइनसकेको संकेत गरेको छ।

अध्यक्ष ओलीले नेतृत्व हस्तान्तरण हुने तर त्यो विधिसम्मत हुनुपर्ने बताएका छन्। उनले कुनै पनि नेतृत्व स्थायी नहुने उल्लेख गर्दै आफूले पनि आफूलाई स्थायी नठानेको बताएका छन्।

ओलीका अनुसार नेतृत्व हस्तान्तरण भनेको हतारमा पार्टीको नेतृत्व कसैलाई सुम्पिनु नभई वर्तमान नेतृत्वले भावी नेतृत्व तयार गर्ने प्रक्रिया हो।

उनले दबाब, हल्ला, अपमान र अधैर्यबाट नेतृत्व हस्तान्तरण भए पार्टी विभाजित हुन सक्ने दाबी गर्दै प्रक्रियाबाट नेतृत्व हस्तान्तरण भए पार्टी थप बलियो हुने धारणा राखेका छन्।

लिङ्क सफलतापूर्वक कापि गरियो!