एमाले केन्द्रीय कार्यालयबाट सशस्त्र प्रहरी फिर्ता

एमाले केन्द्रीय कार्यालयबाट सशस्त्र प्रहरी फिर्ता

काठमाडौं । ललितपुरको च्यासलस्थित नेकपा (एमाले) को केन्द्रीय कार्यालयबाट सशस्त्र प्रहरी बलको टोली फिर्ता भएको छ। पार्टी कार्यालयमा तैनाथ सुरक्षाकर्मी सोमबारदेखि फिर्ता भएको कार्यालय सचिव भीष्म अधिकारीले जानकारी दिएका छन्।

अधिकारीका अनुसार च्यासलमा २०७८ सालदेखि पार्टी कार्यालय सञ्चालनमा आएयता सशस्त्र प्रहरी नियमित रूपमा खटिँदै आएका थिए।

“कहिले बढी, कहिले कम हुन्थे तर कम्तीमा पाँच जना सशस्त्र प्रहरी २४ सै घण्टा खटिने गरेका थिए,” अधिकारीले भने, “आइतबारसम्म खटिएको टोली सोमबारदेखि फिर्ता भएको छ। अहिले कार्यालयमा सुरक्षाकर्मी छैनन्।”

केही दिनअघि गृह मन्त्रालयले विशिष्ट व्यक्ति (भीभीआईपी र भीआईपी) को सुरक्षा तथा निजी सुरक्षा अधिकारीका रूपमा कार्यविधिविपरीत र तोकिएको मापदण्डभन्दा बढी खटाइएका सुरक्षाकर्मीलाई तत्काल फिर्ता गरी आ–आफ्नो दरबन्दीमा खटिन निर्देशन दिएको थियो।

गृह मन्त्रालयको उक्त निर्देशन तथा सुरक्षा मापदण्ड कार्यान्वयन गर्ने नीतिको निरन्तरतास्वरूप राजनीतिक दलका कार्यालयबाट समेत सुरक्षाकर्मी फिर्ता हुन थालेको देखिएको छ।

लिङ्क सफलतापूर्वक कापि गरियो!