काठमाडौँ । पार्टीलाई जानकारी नै नदिई सरकारले प्रहरी नेतृत्व परिवर्तन गरेपछि सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक अन्योलमा परेको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई हटाएर एआईजी डा. मनोजकुमार केसीलाई नियुक्त गर्ने निर्णय गरेपछि सरकार र पार्टीका प्रवक्ताबीच फरक–फरक धारणा सार्वजनिक भएका थिए।
सरकारका प्रवक्ता सस्मित पोखरेलले प्रहरी नेतृत्व परिवर्तनको निर्णय पार्टीकै निर्देशनअनुसार भएको दाबी गरेका थिए। तर, रास्वपाका प्रवक्ता जगदीश खरेलले त्यसको खण्डन गर्दै पार्टीलाई यसबारे कुनै जानकारी नभएको बताएका थिए।
प्रहरी नेतृत्व परिवर्तनको विषयले पार्टीभित्र असन्तुष्टि बढाएको छ। यससँगै न्यायाधीशमाथि महाभियोग प्रक्रिया अघि बढाउने विषय र सरकारको पछिल्लो कार्यशैलीबारे पनि पार्टीभित्र छलफल भइरहेको नेताहरूले बताएका छन्।
पार्टीभित्रै विभिन्न विषयमा मतभेद र असन्तुष्टि देखिएपछि तत्काल संसदीय दलको बैठक बस्ने सम्भावना कम रहेको नेताहरूको भनाइ छ। पछिल्लो घटनाक्रमले सरकार र पार्टीबीचको समन्वय तथा सम्बन्धबारे समेत प्रश्न उठाएको छ।