जनकपुर । भारतको अयोध्याबाट नेपालको जनकपुरधामसम्म सञ्चालन हुने सरयू–कमला एक्सप्रेस रेलको सोमबार औपचारिक उद्घाटन गरिएको छ। भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा हरियो झन्डा देखाएर रेल सेवाको उद्घाटन गरेका हुन्।
उद्घाटनपछि १ हजार १०० यात्रु बोकेर रेल अयोध्याबाट जनकपुरधामका लागि प्रस्थान गरेको छ। अयोध्यामा उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीले शुभकामना दिँदै रेललाई बिदाइ गरेका थिए।
निर्धारित समयभन्दा केही ढिलो प्रस्थान गरेकाले रेल मंगलबार बिहान करिब ९:३० बजे जनकपुरधामस्थित रेल्वे स्टेसनमा आइपुग्ने अनुमान गरिएको छ। नेपाल रेल्वेका प्रबन्ध सञ्चालक परिवेश पराजुलीका अनुसार रेलमा विशिष्ट व्यक्ति, विभिन्न सरकारी तथा कूटनीतिक निकायका पदाधिकारी, साधुसन्त र महात्मासहित १ हजार १०० जना यात्रु छन्।
उनका अनुसार पहिलोपटक सञ्चालन हुने यो रेल जनकपुरधाममा तीन घण्टा मात्र रोकिनेछ। त्यसपछि मंगलबार दिउँसो १ बजेसम्म अयोध्याका लागि फर्किनेछ। रेल सेवा नियमित नभएकाले यसपटक आउने यात्रुलाई विशेष स्वागत गर्ने कार्यक्रम तय गरिएको पराजुलीले बताए।
जनकपुरधाम उपमहानगरपालिका, नेपाल रेल्वे र उद्योग वाणिज्य संघ जनकपुरधामको समन्वयमा यात्रुको स्वागत, मन्दिर दर्शन तथा खाजाको व्यवस्था मिलाइएको छ। स्वागत समारोहमा श्रममन्त्री रामजी यादव र मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको विशेष उपस्थिति रहने पराजुलीले जानकारी दिए। समारोहका लागि रेल्वे स्टेसनमै पण्डाल, मञ्च र बस्ने व्यवस्था मिलाइएको छ।
जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साहका अनुसार यात्रुको स्वागतमा रेल्वे स्टेसनमा झाँकी, सांस्कृतिक नृत्यलगायत कार्यक्रम आयोजना गरिनेछ। सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमको जिम्मेवारी जनकपुरधामको मिनाप संस्थालाई दिइएको छ।
यात्रुको सुविधाका लागि रेल्वे स्टेसनदेखि जानकी मन्दिरसम्मको मुख्य सडक सरसफाइमा विशेष ध्यान दिइएको छ। सडकका दुवै किनारमा नेपाल र भारतका झन्डा राखिनेछ भने प्रत्येक यात्रुलाई फूलमालाले स्वागत गरिने मेयर साहले बताए।
हिँड्न सक्ने यात्रुलाई पैदलै स्वागतसहित मन्दिरसम्म लगिने र हिँड्न नसक्नेका लागि निःशुल्क गाडीको व्यवस्था गरिएको उनले जानकारी दिए। मेयर साहले अयोध्या–जनकपुरधाम रेल सेवाले त्रेतायुगदेखिको सम्बन्धलाई थप मजबुत बनाएको बताए।
जानकी मन्दिरका छोटे महन्थ रामरोशन दासका अनुसार जनकपुरधामका साधुसन्त पनि रेल्वे स्टेसनमै उपस्थित भएर यात्रुको स्वागत गर्नेछन्। यात्रुको जानकी मन्दिरमा पूजाआराधनाका लागि मन्दिर व्यवस्थापन समितिले आवश्यक व्यवस्था मिलाएको उनले बताए।
वर्षौंदेखिको सपना साकार भएको भन्दै छोटे महन्थ दासले प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद दिएका छन्।
अयोध्या–जनकपुरधाम रेल सेवा सुरु हुने भएपछि जनकपुरधामसहित यस क्षेत्रका पर्यटन व्यवसायी तथा व्यापारीमा उत्साह देखिएको छ। सातामा एकपटक सञ्चालन हुने सरयू–कमला एक्सप्रेसले दुवै देशबीचको बेटी–रोटी सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास गरिएको छ।