चितवन राइनोज दोस्रो क्वालिफायरमा, काठमाडौं गोर्खाज ६१ रनले पराजित

चितवन राइनोज दोस्रो क्वालिफायरमा, काठमाडौं गोर्खाज ६१ रनले पराजित

काठमाडौं । चितवन राइनोज राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ। आज सम्पन्न इलिमिनेटर खेलमा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित गर्दै चितवनले दोस्रो क्वालिफायरमा स्थान सुरक्षित गरेको हो।

चितवनले अब दोस्रो क्वालिफायरमा भोलि सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ। पराजित भएसँगै काठमाडौं गोर्खाज भने प्रतियोगिताबाट बाहिरिएको छ।

२०५ रनको विशाल लक्ष्य पछ्याएको काठमाडौंले निर्धारित २० ओभरमा १४३ रन मात्रै बनाउन सक्यो। उसका लागि विल बसिस्टोले सर्वाधिक ३७ रन बनाए। चितवनका रिजन ढकालले ४ तथा उसामा मिरले ३ विकेट लिए।

यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २०४ रन बनाएको थियो। चितवनका कामिल मिशाराले अविजित १२० रन बनाउँदै शतकीय पारी खेले। यस्तै, कप्तान रवि बोपाराले ५३ रनको योगदान दिए।

काठमाडौंका करण केसी र राशिद खानले समान २ विकेट लिए।

लिङ्क सफलतापूर्वक कापि गरियो!