काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनोट प्रक्रियाविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमाथि बुधबार सुनुवाइ भएको छ । न्यायाधीश रत्नबहादुर बागचन्दको एकल इजलासले सुनुवाइपछि विपक्षीका नाममा सूचना म्याद प्राप्त भएको मितिले १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्न आदेश दिएको हो ।
नेपाल पर्यटन बोर्डको सीईओ छनोटका लागि सार्वजनिक गरिएको १६ जनाको संक्षिप्त सूचीका आधारमा अघि बढाइने प्रक्रिया रोक्न माग गर्दै निवेदकहरूले अन्तरिम आदेशको माग गरेका छन् । उक्त मागबारे दुवै पक्षबीच छलफल गर्न सर्वोच्चले मंसिर १४ गतेका लागि पेसी तोकेको छ ।
सर्वोच्चको आदेशमा रिट निवेदनसहितको मिसिल अध्ययन गरी निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता सतीशकृष्ण खरेल, डा. भीमार्जुन आचार्य तथा अधिवक्ता हरिप्रसाद मैनालीले बहस गरेको उल्लेख छ । अदालतले विपक्षीहरूलाई आदेश र रिट निवेदनको प्रतिलिपिसहित सूचना म्याद जारी गरी लिखित जवाफ पेस गर्न भनेको छ ।
रिट नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक उदय भट्टराई, नवीन पोखरेल, सूर्य थपलिया, वरिष्ठ अधिकृत प्रज्ञा घिमिरे तथा पर्यटन क्षेत्रमा लामो समयदेखि सक्रिय ज्ञानेश्वरप्रसाद सिंह महतोले दायर गरेका हुन् । महतो यसअघिको छनोट प्रक्रियामा शीर्ष तीनमा परेका व्यक्ति हुन् । रिटमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्डको कार्यकारी समिति र कार्यकारी प्रमुख छनोट उपसमितिलाई विपक्षी बनाइएको छ ।
बुधबारको सुनुवाइमा निवेदकका तर्फबाट बहस गर्ने वरिष्ठ अधिवक्ताहरूले बोर्डको सीईओ छनोट प्रक्रिया नेपाल पर्यटन बोर्ड ऐन, २०५३, कर्मचारी सेवा विनियमावली तथा छनोट कार्यविधिविपरीत रहेको जिकिर गरेका थिए । नेपाल पर्यटन बोर्ड ऐन, २०५३ को दफा १४ (१) मा कार्यकारी प्रमुखका लागि कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको र पर्यटन क्षेत्रमा कम्तीमा १० वर्षको अनुभव भएको व्यक्ति हुनुपर्ने व्यवस्था छ ।
तर, उक्त कानुनी मापदण्डअनुसार उम्मेदवारहरूको शैक्षिक योग्यता र कार्यअनुभवको पर्याप्त परीक्षण नगरी १६ जनाको संक्षिप्त सूची सार्वजनिक गरिएको निवेदकहरूको दाबी छ । बोर्डले कार्यकारी प्रमुख छनोटका लागि २०८३ भदौ २६ गते दरखास्त आह्वान गरेको थियो । त्यसपछि छनोट उपसमितिले कात्तिक २० गते १६ जनाको संक्षिप्त सूची सार्वजनिक गरेको थियो ।
रिटमा अनुभव गणना गर्दा स्नातकोत्तर उपाधि हासिल गरेपछिको अनुभवलाई आधार मान्नुपर्ने र पर्यटन क्षेत्रसँग सम्बन्धित संगठित वा कानुनद्वारा मान्यता प्राप्त संस्थामा अधिकृतस्तरको पदमा काम गरेको अनुभव हुनुपर्ने तर्क गरिएको छ । यसका लागि नेपाल पर्यटन बोर्ड कर्मचारी सेवा विनियमावली, २०६४ को विनियम ६ तथा लोक सेवा आयोग (कार्य सञ्चालन) निर्देशिका, २०७९ का प्रावधानसमेत पालना हुनुपर्ने निवेदकहरूको जिकिर छ ।
संक्षिप्त सूचीमा समावेश केही उम्मेदवारको स्नातकोत्तरपछिको अनुभव १० वर्ष नपुगेको र केहीको अनुभव कानुनले तोकेको प्रकृतिको संस्थामा अधिकृतस्तरमा काम गरेको अनुभवअन्तर्गत नपर्ने दाबी रिटमा गरिएको छ । निजी कम्पनीको एकल स्वामित्वमा सञ्चालित व्यवसायको अनुभवलाई समेत कानुनले तोकेको संस्थागत अनुभवसरह मान्यता दिन नमिल्ने तर्क बहसका क्रममा गरिएको थियो ।
त्यस्तै, दरखास्त स्वीकृत तथा अस्वीकृत भएका उम्मेदवारको विवरण सार्वजनिक नगरिएको र अयोग्य ठहरिएका उम्मेदवारलाई त्यसको कारणसमेत जानकारी नदिइएको भन्दै छनोट प्रक्रियाको पारदर्शितामाथि प्रश्न उठाइएको छ । योग्यता र अनुभवको वस्तुनिष्ठ परीक्षण नगरी उम्मेदवारलाई प्रतिस्पर्धामा समावेश गर्दा योग्य उम्मेदवार अन्यायमा पर्ने निवेदक पक्षका कानुन व्यवसायीहरूले जिकिर गरेका थिए ।