काठमाडौँ । खैरो हेरोइन मुद्दामा १५ वर्ष कैद र पाँच लाख रुपैयाँ जरिवानाको सजाय सुनाइएका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले असाव मियाँलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पर्साको साविक वीरगञ्ज उपमहानगरपालिका–१८ स्थायी घर भई हाल काठमाडौँ महानगरपालिका–१५ बस्ने सहिम मियाँका छोरा ३९ वर्षीय असाव मियाँ रहेका छन् ।
ब्यूरोका अनुसार मियाँ २०६९ वैशाख ५ गते वीरगञ्जबाट लागूऔषध खैरो हेरोइनसहित पक्राउ परेका थिए । उनीविरुद्ध नेपाल सरकार वादी रहेको लागूऔषध मुद्दामा सर्वोच्च अदालतले २०८० फागुन २२ गते १५ वर्ष कैद र पाँच लाख रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको थियो ।
अदालतको फैसला कार्यान्वयन नभई फरार रहेका मियाँलाई विशेष सूचनाका आधारमा ब्यूरोबाट खटिएको प्रहरी टोलीले २०८३ मंसिर ९ गते काठमाडौँ महानगरपालिका–१५, डल्लुबाट पक्राउ गरेको हो ।
घटना भएको करिब १५ वर्षपछि पक्राउ परेका उनलाई फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइएको ब्यूरोले जनाएको छ ।