काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट दानबहादुर कार्कीलाई हटाउने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्चको आदेशसँगै नवनियुक्त आईजीपी डा. मनोजकुमार केसीलाई तत्काल प्रहरी नेतृत्वमा काम गर्न बाटो खुलेको छ ।
न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासले बुधबार दुवै पक्षको बहस सुनेपछि कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न आवश्यक नदेखिएको ठहर गरेको हो । अदालतले विवादको निरूपण मुद्दाको अन्तिम सुनुवाइबाट हुने जनाएको छ ।
गत कात्तिक १८ गते बसेको मन्त्रिपरिषद् बैठकले तत्कालीन आईजीपी कार्कीलाई जिम्मेवारीबाट हटाउँदै प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको थियो । सोही बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोजकुमार केसीलाई नेपाल प्रहरीको महानिरीक्षक नियुक्त गरेको थियो ।
सरकारको उक्त निर्णय प्रहरी ऐन तथा नियमावलीविपरीत रहेको र आफूलाई गैरकानुनी रूपमा पदबाट हटाइएको दाबी गर्दै कार्कीले सर्वोच्च अदालतमा उत्प्रेषण तथा परमादेशको मागसहित रिट दायर गरेका थिए ।
रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै यसअघि न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले विपक्षीहरूका नाममा कारण देखाऊ आदेश जारी गरेको थियो । साथै, अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाउने आदेश गरेको थियो ।
यसक्रममा नवनियुक्त आईजीपी डा. केसीले अदालतको म्याद बुझेको प्रमाण पेस नभएको भन्दै मंसिर ७ गतेका लागि तोकिएको सुनुवाइ स्थगित भएको थियो । त्यसपछि बुधबार मंसिर ९ गतेका लागि पुनः पेसी तोकिएको थियो ।
बुधबारको सुनुवाइपछि सर्वोच्चले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेसँगै कार्की तत्काल आईजीपी पदमा पुनर्बहाली हुने माग पूरा हुन सकेन । तर, सरकारको निर्णयको वैधानिकताबारे अन्तिम फैसला हुन बाँकी छ ।