काठमाडौं–भैरहवा–लखनउ हवाई रुट दुईतर्फी बनाउन नेपाल–भारत सहमत

काठमाडौं–भैरहवा–लखनउ हवाई रुट दुईतर्फी बनाउन नेपाल–भारत सहमत

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच काठमाडौं–भैरहवा–लखनउ हवाई रुटलाई दुईतर्फी बनाउने सहमति भएको छ। लामो समयदेखि नेपालले उठाउँदै आएको हवाई रुट विस्तारको मागमा भारतसँग सहमति जुटेको हो।

प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको द्विपक्षीय वार्तापछि जारी संयुक्त प्रेस विज्ञप्तिको आठौँ बुँदामा उक्त सहमति उल्लेख गरिएको छ।

हाल एकतर्फी रूपमा सञ्चालनमा रहेको बी३४५ (B345) काठमाडौं–भैरहवा–लखनउ हवाई रुटलाई दुईतर्फी बनाउने सहमति भएको विज्ञप्तिमा जनाइएको छ। यसका लागि आवश्यक कार्यविधि अन्तिम रूप दिन दुवै देशका प्राविधिक टोलीबीच परामर्श गरिनेछ।

नेपालले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको पूर्ण क्षमतामा उपयोग तथा अन्तर्राष्ट्रिय उडान सञ्चालनलाई सहज बनाउन लामो समयदेखि उक्त हवाई रुट दुईतर्फी बनाउनुपर्ने माग गर्दै आएको थियो।

एकतर्फी हवाई रुटका कारण विमान सञ्चालनमा प्राविधिक तथा व्यावसायिक कठिनाइ हुँदै आएको थियो। दुईतर्फी रुट सञ्चालनमा आएपछि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान विस्तार गर्न सहज हुने अपेक्षा गरिएको छ।

संयुक्त विज्ञप्तिमा हवाई सम्पर्क विस्तार र द्विपक्षीय आर्थिक गतिविधि बढाउने उद्देश्यले हवाई सेवासम्बन्धी अन्य प्रस्तावमाथिको छलफललाई समेत निरन्तरता दिने उल्लेख छ।

लिङ्क सफलतापूर्वक कापि गरियो!