काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपालको नागरिक उड्डयन क्षेत्रका लागि महत्त्वपूर्ण सहमति भएको छ। नेपाल र भारतबीच विदेशबाट नेपाल आउने जहाजका लागि भैरहवाबाट समेत हवाई प्रवेशमार्ग उपलब्ध गराउने सहमति भएको हो।
प्रधानमन्त्री शाहको भारत भ्रमणपछि जारी संयुक्त प्रेस विज्ञप्तिमा हवाई रुट विस्तारको विषय समेटिएको छ। हालसम्म भारतबाट नेपाल प्रवेश गर्ने अन्तर्राष्ट्रिय उडानका लागि सिमरा प्रमुख प्रवेश बिन्दु रहँदै आएकोमा अब भैरहवाबाट समेत प्रवेश गर्न सकिने गरी रुट उपलब्ध गराउन दुवै देश सहमत भएका छन्।
नेपालले यसअघि भैरहवा, नेपालगञ्ज र महेन्द्रनगरबाट अन्तर्राष्ट्रिय जहाजलाई नेपाल प्रवेशको अनुमति दिन भारतसँग आग्रह गर्दै आएको थियो। तीमध्ये भैरहवा तुलनात्मक रूपमा छोटो प्रवेशमार्ग मानिन्छ। भारतले यसअघि सुरक्षासम्बन्धी चासो देखाउँदै यस्तो अनुमति दिन अस्वीकार गर्दै आएको थियो।
यो सहमतिले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुने उडान व्यवस्थापनमा समेत सहजता ल्याउने अपेक्षा गरिएको छ।
पश्चिमबाट आउने जहाजलाई बढी फाइदा
नेपालमा दैनिक करिब १०० देखि ११५ वटासम्म अन्तर्राष्ट्रिय उडान हुने गरेका छन्। नेपालबाट बाहिरिने जहाजका लागि विभिन्न हवाई मार्ग उपलब्ध भए पनि विदेशबाट नेपाल प्रवेश गर्ने अधिकांश अन्तर्राष्ट्रिय उडानले भारतीय आकाश हुँदै सिमरा प्रवेश बिन्दु प्रयोग गर्नुपर्ने बाध्यता छ।
विशेषगरी कतार, संयुक्त अरब इमिरेट्स (यूएई), साउदी अरब, कुवेत, टर्किए तथा भारतका दिल्ली, मुम्बई र बेंगलुरुलगायत सहरबाट आउने जहाजले सिमरा हुँदै नेपाल प्रवेश गर्नुपर्ने अवस्था छ।
यसका कारण भैरहवा र पोखरा जाने जहाजले समेत लामो दूरी तय गर्नुपर्ने अवस्था रहँदै आएको छ। सिमरासम्म आएर पुनः पश्चिमतर्फ मोडिनुपर्दा भैरहवा जाने जहाजले करिब २०० देखि ३०० किलोमिटरसम्म अतिरिक्त दूरी उड्नुपर्ने बाध्यता रहेको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक राजकुमार क्षत्रीका अनुसार मध्यपूर्व तथा पश्चिम एसियाबाट काठमाडौं आउने जहाजले भैरहवा प्रवेशमार्ग प्रयोग गर्न पाए प्रतिउडान १५ मिनेटसम्म समय बचत गर्न सक्नेछन्। भैरहवा र पोखरा जाने जहाजका लागि भने समय बचत अझ बढी हुन सक्ने उनको भनाइ छ।
उडान दूरी र समय घट्दा हवाई इन्धन खपत, चालक दलको सञ्चालन खर्च तथा अन्य प्राविधिक लागतसमेत घट्नेछ। यसले वायुसेवा कम्पनीको सञ्चालन खर्च कम गर्न र हवाई भाडादरमा समेत सकारात्मक प्रभाव पार्न सक्ने अपेक्षा गरिएको छ।
भारतीय सहरसँग सीधा हवाई सम्पर्क विस्तार हुने
भैरहवा प्रवेशमार्ग उपलब्ध भएपछि नेपाल र भारतबीच क्षेत्रीय हवाई सम्पर्क विस्तार गर्न पनि सहज हुनेछ।
हाल बुद्ध एयरले काठमाडौं–बनारस नियमित उडान गर्दै आएको छ। तर, नेपालबाट बनारस जाँदा भैरहवा निकास बिन्दु प्रयोग गर्ने जहाज फर्किंदा सिमरासम्म घुमेर आउनुपर्ने अवस्था छ।
नयाँ प्रवेशमार्ग कार्यान्वयनमा आएपछि दुवैतर्फ छोटो हवाई मार्ग प्रयोग गर्न सकिनेछ। यसले काठमाडौंसँगै पोखरा र भैरहवा विमानस्थललाई भारतका प्रमुख धार्मिक, पर्यटकीय तथा व्यावसायिक सहरसँग जोड्न सहयोग पुग्नेछ।
विशेषगरी लुम्बिनी आउने बौद्ध तीर्थयात्री तथा पोखरा घुम्न आउने भारतीय र विदेशी पर्यटकका लागि यसले सहजता थप्ने अपेक्षा गरिएको छ।
यद्यपि, हवाई रुट उपलब्ध हुँदैमा विमानस्थलमा उडान स्वतः बढ्ने अवस्था भने हुँदैन। पर्याप्त यात्रु, बजारको माग र वायुसेवा कम्पनीका लागि व्यावसायिक सम्भावना सुनिश्चित हुनुपर्ने उड्डयन क्षेत्रका जानकारहरूको भनाइ छ।
नेपालको आम्दानीमा पनि योगदान
नयाँ हवाई प्रवेशमार्गले वायुसेवा कम्पनीको लागत घटाउनुका साथै नेपालको हवाई क्षेत्रबाट हुने आम्दानी बढाउन पनि सहयोग पुर्याउन सक्छ।
अन्तर्राष्ट्रिय उडानका क्रममा कुनै देशको हवाई क्षेत्र प्रयोग गरेबापत सम्बन्धित देशलाई नेभिगेसन तथा हवाई मार्ग प्रयोग शुल्क तिर्नुपर्ने व्यवस्था छ। हाल पश्चिमबाट आउने जहाजले भारतीय आकाश हुँदै सिमरा प्रवेश गर्दा लामो दूरीको हवाई मार्ग प्रयोग गरेबापत भारतलाई शुल्क बुझाउनुपर्ने अवस्था छ।
पूर्वमहानिर्देशक क्षत्रीका अनुसार भैरहवा प्रवेशमार्ग प्रयोग गर्न पाए भारतीय आकाशको करिब १० मिनेट बराबरको दूरी प्रयोग गर्नुपर्ने बाध्यता हट्नेछ। यसबाट वायुसेवा कम्पनीको भारतीय हवाई मार्ग प्रयोग शुल्क जोगिनेछ भने नेपालको हवाई क्षेत्र प्रयोग हुने दूरी बढ्दा नेपालले पाउने शुल्कमा समेत वृद्धि हुन सक्नेछ।
कार्यान्वयनका लागि प्राविधिक सहमति आवश्यक
प्रधानमन्त्रीस्तरीय भ्रमणमा भएको सहमति नीतिगत रूपमा महत्त्वपूर्ण भए पनि यसको पूर्ण कार्यान्वयनका लागि दुवै देशका नागरिक उड्डयन निकायबीच प्राविधिक विषय टुंग्याउनुपर्नेछ।
यसमा जहाजको उडान उचाइ (फ्लाइट लेभल) मुख्य विषयका रूपमा रहेको छ। भैरहवा हुँदै नेपालबाट बाहिरिने जहाजका लागि उचाइको कडा सीमा नरहेको भए पनि नेपाल प्रवेश गर्ने जहाजले कति उचाइबाट प्रवेश गर्न पाउने भन्ने विषय स्पष्ट हुन आवश्यक छ।
पूर्वमहानिर्देशक क्षत्रीका अनुसार प्रवेश गर्ने जहाजलाई पनि अनावश्यक उचाइसम्बन्धी बन्देज नलगाउनु महत्त्वपूर्ण हुन्छ।
त्यस्तै, भैरहवा विमानस्थल नेपाल–भारत सीमाबाट करिब पाँच किलोमिटर मात्रै टाढा रहेकाले त्यहाँ जडित इन्स्ट्रुमेन्ट ल्यान्डिङ सिस्टम (आईएलएस) र एप्रोच पाथको सञ्चालनसम्बन्धी प्राविधिक विषय पनि टुंग्याउनुपर्नेछ।
यी विषयमा दुवै देशबीच आवश्यक प्राविधिक परामर्श र सहमति भएपछि मात्रै नयाँ हवाई प्रवेशमार्ग पूर्ण रूपमा सञ्चालनमा आउनेछ।