नयाँ दिल्ली । भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय समकक्षी नरेन्द्र मोदीबीच सोमबार हुने ‘वान टु वान’ भेटवार्तामा सीमा विवाद र हवाई प्रवेश मार्ग (एयर रुट) को विषयमा सहमति नहुने भएको छ ।
आधा घण्टाका लागि तय गरिएको दुई प्रधानमन्त्रीबीचको भेटवार्ता र त्यसपछि हुने प्रतिनिधिमण्डलस्तरीय छलफलमा सीमा विवाद र एयर रुटको विषय समावेश नहुने लगभग निश्चित भएको प्रधानमन्त्रीको भ्रमण टोलीका एक सदस्यले बताएका छन् । यद्यपि, यस विषयमा सहमति जुटाउने प्रयास भने जारी रहेको अधिकारीहरूको भनाइ छ ।
‘विकसित भारत र समुन्नत नेपाल : साझेदारीको पुनःकल्पना’ भन्ने नारासहित विभिन्न सहमति र सम्झौता गर्ने तयारी भए पनि नेपालका लागि महत्त्वपूर्ण मानिएका सीमा विवाद र हवाई प्रवेश मार्गका विषयमा सहमति नहुने देखिएको हो ।
नेपालमा लामो समयदेखि चर्चामा रहेका सीमा विवाद र हवाई प्रवेश मार्गका विषय अहिलेसम्म तयार भएका सहमति तथा सम्झौतामा समेटिएका छैनन् । भ्रमण दलमा रहेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, परराष्ट्र मन्त्रालय तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अधिकारीहरूका अनुसार सोमबारको औपचारिक कार्यसूचीमा यी विषय समावेश छैनन् । वार्ताको तयारीका क्रममा हवाई प्रवेश मार्गको विषयले प्रवेश पाए पनि भारतीय पक्षले हालसम्म सहमति जनाएको छैन ।
आर्थिक साझेदारीसम्बन्धी बुँदामा नेपाललाई थप हवाई मार्ग उपलब्ध गराउने विषयमा छलफल गर्ने र त्यसको प्रभावकारी सञ्चालनका लागि तयारी थाल्ने उल्लेख छ । सरकारी स्रोतका अनुसार अन्तिम समयमा कार्यसूचीमा फेरबदल भएमा मात्र यस विषयमा फरक निर्णय आउन सक्छ ।
दुई प्रधानमन्त्रीबीचको भेटवार्तामा नेपाल र भारतबीचको मैत्रीपूर्ण सम्बन्ध, जनस्तरको निकटता तथा साझा सभ्यताका विषयमा छलफल हुनेछ । त्यसपछि रसुवा बाढीको खोज तथा उद्धारमा सहयोग आदानप्रदान र सन् १९५० को सन्धिलाई आपसी समझदारीमा पुनरावलोकन गर्ने विषयमा छलफल हुने दुवै पक्षले बताएका छन् ।
त्यसपछि दुवै प्रधानमन्त्रीले नवयुवाका लागि ‘जोइन्ट भिजन’ अन्तर्गत १० वटा बुँदामा सहमतिलाई औपचारिकता दिनेछन् । सहमति कार्यान्वयनको अवस्था अनुगमन गर्न नेपालका परराष्ट्र सचिव र भारतका राजदूतको नेतृत्वमा उच्चस्तरीय अनुगमन समूह गठन गर्ने प्रस्ताव पनि रहेको अधिकारीहरूले बताएका छन् । उक्त समूहले प्रत्येक ६–६ महिनामा प्रगति विवरण पेस गर्नेछ ।
१० बुँदामा व्यापार, आर्थिक तथा विकास साझेदारी, भौतिक तथा डिजिटल सम्पर्क सञ्जाल, ऊर्जा, जलस्रोत तथा जलवायु उत्थानशीलता, सुशासन, प्रविधि, अन्तरिक्ष तथा नवप्रवर्तन, शिक्षा तथा सीप विकास, खेलकुद, संस्कृति तथा पर्यटन, स्वास्थ्य र कृषि क्षेत्र समेटिएका छन् ।
त्यस्तै, जनकपुर–अयोध्या जोड्ने रामायण सर्किट, लुम्बिनी–बोधगया–सारनाथ–कुशीनगर जोड्ने बौद्ध सर्किट तथा पशुपतिनाथ–वाराणसी जोड्ने शिव–शक्ति सर्किट विकास गर्ने विषय पनि सम्झौतामा समेटिएको छ ।
आइतबार दिउँसो ३ बजेर २५ मिनेटमा नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका प्रधानमन्त्री शाहलाई भारतीय उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिनकुमारले स्वागत गरेका थिए ।
त्यसपछि होटल ताज पुगेका प्रधानमन्त्री शाहलाई भेट्न भारतीय विदेशमन्त्री डा. एस जयशंकर होटलमै पुगेका थिए । उनले सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हुने वान टु वान तथा प्रतिनिधिमण्डलस्तरीय वार्तामा छलफल हुने विषय र सहमतिबारे जानकारी गराएका थिए ।
भेटपछि भारतीय विदेशमन्त्री जयशंकरले नेपाल–भारतबीचको विशेष मित्रतालाई भारतले सदैव कदर गर्ने बताएका छन् । प्रधानमन्त्री शाहसँगको भेटपछि सामाजिक सञ्जाल एक्समा उनले लेखेका छन्, ‘आज साँझ नयाँ दिल्ली भ्रमणमा रहनुभएका नेपालका प्रधानमन्त्री बालेन शाहसँग भेट गर्न पाउँदा गौरवान्वित महसुस गरेको छु । भारतले नेपालसँगको विशेष मित्रतालाई सधैँ कदर गर्दछ ।’
जयशंकरले सोमबार भारतीय प्रधानमन्त्री मोदीसँग हुने प्रधानमन्त्री शाहको भेटवार्ता तथा अन्य कार्यक्रमप्रति आफू प्रतीक्षारत रहेको पनि उल्लेख गरेका छन् ।
आइतबार नै नेपाल र भारतका व्यवसायीबीच आर्थिक सहकार्यसम्बन्धी कार्यक्रमसमेत सम्पन्न भएको छ । कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसहित दुवै देशका व्यवसायीबीच सहयोग र सहकार्यका विषयमा छलफल भएको थियो ।
दुई दिने भ्रमणका क्रममा प्रधानमन्त्री शाहले सोमबार भारतीय प्रधानमन्त्री मोदी र राष्ट्रपति द्रौपदी मुर्मूसँग भेटवार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्री मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ भने उनले प्रधानमन्त्री शाहको सम्मानमा दिवाभोजसमेत आयोजना गर्नेछन् । भारतीय विदेशमन्त्री जयशंकरले पनि प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।
भ्रमणका क्रममा केही नयाँ परियोजनाको उद्घाटन तथा केही परियोजनाको शिलान्यास गरिनेछ । साथै, विभिन्न समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गर्ने कार्यक्रम रहेको भारतीय दूतावासले जनाएको छ ।
दुई पक्षीय वार्तामा प्रस्तावित आर्थिक प्याकेज, हवाई सम्पर्क र द्विपक्षीय सम्बन्धका विभिन्न विषयमा छलफल हुने तयारी रहेको परराष्ट्र मन्त्रालयका अधिकारीहरूले बताएका छन् ।
‘आर्थिक प्याकेज, हवाई सम्पर्क र द्विपक्षीय सम्बन्धका विभिन्न विषयमा छलफलको तयारी छ,’ परराष्ट्र मन्त्रालयका एक अधिकारीले रातोपाटीसँग भने, ‘अझै सबै विषय टुङ्गिएका छैनन् । सोमबार बिहानसम्म सबै विषय टुङ्ग्याउने गरी काम गरिरहेका छौँ ।’
भ्रमणका क्रममा भारतीय आकाश हुँदै महेन्द्रनगर र भैरहवाबाट थप हवाई प्रवेश मार्ग उपलब्ध गराउने विषयमा छलफल भए पनि सहमति हुन सकेको छैन ।
नेपालले अन्तर्राष्ट्रिय उडानलाई सहज बनाउन भैरहवा, नेपालगञ्ज, महेन्द्रनगर र जनकपुरबाट थप हवाई प्रवेश मार्ग उपलब्ध गराउन भारतसँग आग्रह गर्दै आएको छ । तर, भारतले यसमा सहमति जनाएको छैन ।
नेपालले महेन्द्रनगरको हवाई मार्ग प्रयोग गर्दा विमान भारतीय आकाशमा तुलनात्मक रूपमा बढी उचाइबाट प्रवेश गर्नुपर्ने अवस्था रहेको जनाएको छ । भैरहवाको प्रस्तावित मार्ग भने कम उचाइबाट प्रवेश गर्न मिल्ने भएकाले सामान्य उडान तथा अवतरणका लागि बढी उपयुक्त हुने नेपालको तर्क छ ।
पश्चिम बंगालस्थित बागडोगराका लागि भने भारतीय पक्षले थोरै नेपाली हवाई क्षेत्र प्रयोग गर्नुपर्ने भएकाले सकारात्मक सङ्केत दिएको बताइएको छ । महेन्द्रनगर, जनकपुर र भैरहवाबाट फरक–फरक उचाइमा हवाई प्रवेश मार्ग उपलब्ध गराउने विषयमा भारत सकारात्मक देखिए पनि सहमति हुने निश्चित भइसकेको छैन ।
उच्चस्तरीय भेटघाट तथा द्विपक्षीय छलफल सकेर प्रधानमन्त्री शाह सोमबार नै स्वदेश फर्किने कार्यक्रम छ ।