प्रधानमन्त्री बालेनको आज मोदीसँग द्विपक्षीय वार्ता, यस्तो छ भ्रमणको कार्यतालिका

प्रधानमन्त्री बालेनको आज मोदीसँग द्विपक्षीय वार्ता, यस्तो छ भ्रमणको कार्यतालिका

काठमाडौं । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को भ्रमणको दोस्रो दिन सोमबार उच्चस्तरीय भेटवार्ता तथा औपचारिक कार्यक्रमहरू तय भएका छन् ।

सार्वजनिक कार्यतालिका अनुसार सोमबार बिहान १० बजे नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा प्रधानमन्त्री शाहको औपचारिक स्वागत गरिनेछ । त्यसलगत्तै बिहान १०:४० बजे उनी राजघाट पुगेर पुष्पहार अर्पण गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री शाहको भ्रमणको मुख्य राजनीतिक कार्यक्रमअन्तर्गत बिहान ११ बजे हैदराबाद हाउसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता हुनेछ । दुई देशका प्रधानमन्त्रीबीचको वार्तापछि दिउँसो १२:२५ बजे हैदराबाद हाउसमै समझदारीपत्र (एमओयू) आदानप्रदान तथा संयुक्त प्रेस वक्तव्य जारी गर्ने कार्यक्रम रहेको छ ।

त्यसपछि दिउँसो ३:१५ बजे प्रधानमन्त्री शाहले राष्ट्रपति भवन पुगेर भारतीय राष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ ।

दिनभरका महत्त्वपूर्ण औपचारिक तथा कूटनीतिक कार्यक्रम सम्पन्न गरी प्रधानमन्त्री शाह अपराह्न ४:५० बजे स्वदेश फर्कन नयाँ दिल्लीबाट प्रस्थान गर्ने कार्यतालिका रहेको छ ।

आइतबार भारत पुगेका प्रधानमन्त्री शाहले सोही दिन भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका थिए ।

लिङ्क सफलतापूर्वक कापि गरियो!