काठमाडौँको वातावरणीय संकटबाट पाठ सिक्न स्थानीय तहलाई कार्यवाहक प्रधानमन्त्री श्रेष्ठको आग्रह

काठमाडौँको वातावरणीय संकटबाट पाठ सिक्न स्थानीय तहलाई कार्यवाहक प्रधानमन्त्री श्रेष्ठको आग्रह

काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री विराजभक्त श्रेष्ठले अनियन्त्रित सहरीकरण, नदी अतिक्रमण र प्राकृतिक जलाधारको विनाशका कारण काठमाडौँले भोगिरहेको वातावरणीय संकटबाट पाठ सिक्न देशभरका स्थानीय तहलाई आग्रह गरेका छन् ।

समस्या विकराल बनेपछि पछुताउनुभन्दा नदी, पोखरी, खुला क्षेत्र र पानीका मुहान जोगाउन अहिल्यै कदम चाल्नुपर्ने उनले बताएका छन् ।

सोमबार काठमाडौँ महानगरपालिकाले आयोजना गरेको ‘काठमाडौँ क्लाइमेट एक्सन विक’लाई सम्बोधन गर्दै श्रेष्ठले काठमाडौँले भोगेका बाढी, डुबान, अत्यधिक गर्मी र पानीका स्रोत सुक्ने समस्यालाई तीव्र रूपमा विस्तार भइरहेका अन्य सहरले गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिए ।

श्रेष्ठले काठमाडौँ महानगरपालिकाले पछिल्लो चार वर्षमा ऐतिहासिक ढुङ्गेधारा (हिटी) पुनर्जीवनका लागि गरेको प्रयासको प्रशंसा गरे । पुरिएका र अस्तित्व गुमाउने अवस्थामा पुगेका ढुङ्गेधारा तथा राजकुलोले वर्षाको पानी संकलन गरी भूमिगत जलस्रोत पुनर्भरण गर्ने र सहरको तापक्रम घटाउन सहयोग गर्ने उनको भनाइ छ ।

सहरी बाढी नियन्त्रण र पूर्वसूचना प्रणालीलाई सरकारले प्राथमिकतामा राख्ने उल्लेख गर्दै उनले जल तथा मौसम विज्ञान विभागमार्फत महानगरपालिका र अन्य सहरसँग वर्षा मापन, सहरी बाढीको मोडलिङ तथा पूर्वसूचना प्रणाली विकासमा सहकार्य गरिने बताए । यसका लागि महानगर र सम्बन्धित स्थानीय तहलाई आफ्नो ढल निकास तथा बाढी जोखिम क्षेत्रको तथ्यांक उपलब्ध गराएर संयुक्त अनुगमन प्रणाली बनाउन उनले आग्रह गरे ।

नदी व्यवस्थापनमा कङ्क्रिटका संरचनालाई मात्र विकल्प मान्न नहुने बताउँदै श्रेष्ठले प्रकृतिमैत्री नदी व्यवस्थापनमा जोड दिए । नदीलाई प्राकृतिक रूपमा फैलिन र खुम्चिन दिनुपर्ने उल्लेख गर्दै उनले काठमाडौँ उपत्यकाका नदी प्रणालीसँग जोडिएका १७ स्थानीय तह, काठमाडौँ महानगरपालिका र सम्बन्धित संघीय निकायबीच समन्वय गरेर जोखिमयुक्त नदी क्षेत्रको प्राथमिकता निर्धारण गरिने बताए । आगामी मनसुनअघि नै जोखिमयुक्त क्षेत्रमा हस्तक्षेपकारी काम सुरु गर्ने उनको प्रतिबद्धता छ ।

‘बढ्दै गरेका सहर तथा नगरपालिकाहरूलाई म यही भन्न चाहन्छु, काठमाडौँले भोगेका समस्याहरूबाट पाठ सिक्नुहोस् । क्षति भइसकेपछि होइन, क्षति हुनुअघि नै सचेत हुनुहोस् र आफ्ना नदी, पोखरी र खुला जमिन जोगाउनुहोस्,’ कार्यवाहक प्रधानमन्त्री श्रेष्ठले भने, ‘विगत चार वर्षदेखि काठमाडौँ महानगरपालिकाले परम्परागत हिटीहरूको पुनर्जीवनका लागि गरेको प्रयास प्रशंसनीय छ । हिटी र राजकुलोले वर्षाको पानी संकलन गर्ने र भूमिगत जलभण्डार पुनर्भरण गर्ने काम गर्थे । आधुनिक सहरलाई शीतल राख्न र बाढीको जोखिम कम गर्न ठ्याक्कै यस्तै प्रणालीको आवश्यकता पर्छ ।’

उनले विष्णुद्वार, वाग्द्वार, नागार्जुन र गोदावरी क्षेत्रका जलाधार तथा पानीका मुहान संरक्षणलाई पनि प्राथमिकता दिनुपर्ने बताए । सहरी तापक्रम घटाउन र भूमिगत पानीको सतह बढाउन घरमै वर्षाको पानी संकलन, पानी सोस्ने पदमार्ग, खुला क्षेत्र, स्थानीय प्रजातिका रूख र सडक किनारमा हरियाली विस्तार गर्नुपर्ने उनको भनाइ छ । यसका लागि पहिलो परियोजना पहिचान गर्न महानगरपालिकालाई आग्रह गर्दै संघीय सरकारले प्राविधिक र आर्थिक सहयोग गर्ने प्रतिबद्धता उनले जनाए ।

जलवायु परिवर्तनको असर र अन्तर्राष्ट्रिय जलवायु न्यायको विषय उठाउँदै श्रेष्ठले विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नेपालको योगदान न्यून भए पनि हिमनदी पग्लिने र हिमाली समुदायले ठूलो मूल्य चुकाउनुपर्ने अवस्था रहेको बताए । नेपालले अन्तर्राष्ट्रिय जलवायु सम्मेलनहरूमा क्षति तथा नोक्सानी र जलवायु वित्तको विषय उठाउँदै आएको उल्लेख गर्दै उनले जलवायु न्यायको सुरुवात आफ्नै देशबाट हुनुपर्नेमा जोड दिए ।

लिङ्क सफलतापूर्वक कापि गरियो!