काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहको भारतको राजकीय भ्रमणका क्रममा नेपाल र भारतबीच आठ वटा महत्त्वपूर्ण क्षेत्रमा सहकार्य गर्ने समझदारीपत्रमा हस्ताक्षर भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री शाहको उपस्थितिमा सुरक्षा, शिक्षा, प्रशासन, स्वास्थ्य, सञ्चार, कृषि तथा सहरी विकासलगायतका क्षेत्रमा सहकार्य गर्ने समझदारी भएको हो ।
भ्रमणका क्रममा सुरक्षा संयन्त्रको आधुनिकीकरण र अपराध अनुसन्धानको क्षमता अभिवृद्धिलाई प्राथमिकता दिँदै दुई वटा शैक्षिक तथा तालिमसम्बन्धी समझदारी भएका छन् । भारतको गुजरातस्थित गान्धीनगरमा रहेको राष्ट्रिय फरेन्सिक विज्ञान विश्वविद्यालय (नेसनल फरेन्सिक साइन्सेज युनिभर्सिटी) र नेपाल प्रहरीको अपराध अनुसन्धान विभागबीच शैक्षिक तथा अनुसन्धान सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
यस सहकार्यले नेपालको अपराध अनुसन्धान प्रणालीलाई वैज्ञानिक र प्रविधिमैत्री बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । त्यस्तै, सुरक्षा तथा प्रहरी प्रशिक्षणको क्षेत्रमा सहकार्य विस्तार गर्न भारतको राष्ट्रिय रक्षा विश्वविद्यालय (आरआरयू) र नेपालको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (एनपीए)बीच पनि समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
सार्वजनिक प्रशासनलाई थप प्रभावकारी र जनउत्तरदायी बनाउने उद्देश्यले निजामती कर्मचारीको क्षमता विकासका लागि पनि समझदारी भएको छ । भारत सरकारको प्रशासनिक सुधार तथा सार्वजनिक गुनासो विभागअन्तर्गतको राष्ट्रिय सुशासन केन्द्र र नेपाल सरकारको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानबीच नेपाली निजामती कर्मचारीको क्षमता अभिवृद्धि तथा तालिम कार्यक्रम सञ्चालन गर्ने विषयमा समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
स्वास्थ्य क्षेत्रको सुदृढीकरणका लागि भारत सरकारको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालय र नेपाल सरकारको स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयबीच स्वास्थ्य सेवा तथा चिकित्सकीय क्षेत्रमा सहकार्य गर्ने समझदारी भएको छ ।
त्यस्तै, परम्परागत उपचार पद्धतिको संरक्षण, अनुसन्धान तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयुर्वेद र अन्य परम्परागत चिकित्सा प्रणालीको क्षेत्रमा सहकार्य गर्न नेपाल र भारतबीच अर्को समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
कृषि तथा ग्रामीण अर्थतन्त्रको महत्त्वपूर्ण क्षेत्रका रूपमा रहेको पशुपालन तथा मत्स्यपालनको उत्पादकत्व वृद्धि गर्न पनि दुई देश सहमत भएका छन् । पशुपालन तथा मत्स्यपालन विकासको क्षेत्रमा सहकार्य गर्ने विषयमा नेपाल सरकार र भारत सरकारबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
प्रविधि तथा सहरी पूर्वाधार विकासका क्षेत्रमा पनि दुवै देशले साझेदारी गर्ने सहमति गरेका छन् । दक्षिण एसिया स्याटेलाइटको प्रभावकारी उपयोगका लागि स्याटेलाइट सञ्चार नेटवर्क स्थापना गर्ने विषयमा भारतको भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) र नेपाल सरकारको सूचना तथा सञ्चार मन्त्रालयबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
यस्तै, बढ्दो सहरीकरणका चुनौतीलाई सम्बोधन गर्दै व्यवस्थित तथा दिगो सहर निर्माणका लागि नेपाल र भारतबीच दिगो सहरी विकासको क्षेत्रमा प्राविधिक सहकार्य गर्ने छुट्टै समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
