काठमाडौँ । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को छपाइ तथा वितरण प्रक्रियालाई थप व्यवस्थित, छिटो र सहज बनाउन सरकारका तीन निकायबीच त्रिपक्षीय सम्झौता भएको छ।
सम्झौतासँगै अब सेवाग्राहीले आफ्नो लाइसेन्स सम्बन्धित यातायात कार्यालयबाट मात्र नभई आफूले चाहेको ठेगानामा, अर्थात् घरमै समेत प्राप्त गर्न सक्ने व्यवस्था हुने भएको छ।
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएका हुन्। उनका अनुसार मंगलबार पूर्वाधार विकास मन्त्रालयमा यातायात व्यवस्था विभाग, हुलाक सेवा विभाग र सुरक्षण मुद्रण केन्द्रबीच उक्त त्रिपक्षीय सम्झौतामा हस्ताक्षर भएको हो।
सम्झौताअनुसार यातायात व्यवस्था विभागद्वारा सञ्चालित विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (EDLVRS) मार्फत जारी हुने लाइसेन्सको डाटा सोझै सुरक्षण मुद्रण केन्द्रको प्रणालीमा पठाइनेछ। डाटा प्राप्त भएपछि केन्द्रले लाइसेन्स छपाइ गर्नेछ। यसबाट विगतमा हुने प्राविधिक झन्झट तथा डाटा आदानप्रदानमा लाग्ने समय घट्ने अपेक्षा गरिएको छ।
सुरक्षण मुद्रण केन्द्रमा छपाइ भएका लाइसेन्स हुलाक सेवा विभागमार्फत वितरण गर्ने व्यवस्था मिलाइएको छ।
मन्त्री लम्सालका अनुसार EDLVRS प्रणालीबाट जारी भएका लाइसेन्स सम्बन्धित प्रदेश कार्यालयमा पठाई त्यहीँबाट वितरण गरिनेछ। साथै, सेवाग्राहीले चाहेमा आफूले इच्छाएको ठेगानामा लाइसेन्स पुर्याउने व्यवस्थासमेत यसै सम्झौतामार्फत गरिएको छ।


