Tuesday, September 22, 2026
Homeसामाचारभरतमणि दाहाललाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

भरतमणि दाहाललाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले राजनीतिक विश्लेषक भरत (भरतमणि) दाहाललाई आदेश प्राप्त भएको २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको छ।

दाहालको तर्फबाट उनकी छोरी डेनिकाले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दायर गरेकी थिइन्। मंगलबार सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको एकल इजलासले उक्त रिटमाथि सुनुवाइ गर्दै दाहाललाई पक्राउ गर्नुपर्ने आधार र कारणसहित लिखित जवाफ पेस गर्न आदेश दिएको हो।

सर्वोच्चले आदेश प्राप्त भएको मितिले बाटोको म्यादबाहेक २४ घण्टाभित्र अनुसन्धानसम्बन्धी मिसिलसहित बन्दी दाहाललाई अदालतमा उपस्थित गराउन पनि आदेश दिएको छ।

दाहाललाई प्रहरीले आइतबार मोरङको सुन्दरहरैँचा नगरपालिका–८, सलकपुरबाट पक्राउ गरी काठमाडौं पठाएको थियो। काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि साइबर ब्युरोको आग्रहमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दाहालमाथि विद्युतीय कारोबार ऐनअन्तर्गत अनुसन्धान भइरहेको छ। उनको युट्युब च्यानल तथा सामाजिक सञ्जालमार्फत भूराजनीतिक विषय र उच्च राजनीतिक व्यक्तित्वसम्बन्धी सामग्री प्रसारण तथा प्रचार गरेको विषयमा अनुसन्धान अघि बढाइएको जनाइएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका