Friday, September 18, 2026
Homeसामाचारग्लोबल सिटी इन्डेक्समा न्युयोर्क पहिलो, काठमाडौँ ६८७औँ स्थानमा

ग्लोबल सिटी इन्डेक्समा न्युयोर्क पहिलो, काठमाडौँ ६८७औँ स्थानमा

काठमाडौँ। अक्सफोर्ड इकोनोमिक्सले सार्वजनिक गरेको सन् २०२६ को ग्लोबल सिटी इन्डेक्समा अमेरिकाको न्युयोर्क विश्वकै शीर्ष सहर बनेको छ। विश्वका १ हजार ठूला सहरलाई विभिन्न सूचकका आधारमा मूल्यांकन गरी तयार पारिएको सूचीमा न्युयोर्क पहिलो स्थानमा परेको हो।

सहरहरूको मूल्यांकन अर्थतन्त्र, मानवीय क्षमता, जीवनस्तर, वातावरण र शासन गरी पाँच प्रमुख आधारमा गरिएको छ। समग्र प्रदर्शनका आधारमा न्युयोर्कपछि बेलायतको लन्डन दोस्रो र फ्रान्सको पेरिस तेस्रो स्थानमा रहेका छन्।

शीर्ष १० मा अमेरिकी सहरहरूको उपस्थिति बलियो देखिएको छ। अमेरिकाका सियाटल चौथो, सान फ्रान्सिस्को पाँचौँ, बोस्टन सातौँ र सान होजे आठौँ स्थानमा छन्। आयरल्यान्डको डब्लिन छैटौँ, जापानको टोकियो नवौँ र स्विट्जरल्यान्डको ज्युरिख दशौँ स्थानमा रहेका छन्।

नेपालको राजधानी काठमाडौँ भने समग्र सूचीमा ६८७औँ स्थानमा परेको छ। सूचकगत रूपमा हेर्दा काठमाडौँ मानवीय क्षमतामा ५६२औँ, शासनमा ६३५औँ, वातावरणमा ६३९औँ, अर्थतन्त्रमा ६७०औँ र जीवनस्तरमा ८४०औँ स्थानमा रहेको छ।

काठमाडौँका पाँच प्रमुख सूचकमध्ये जीवनस्तरको स्थान सबैभन्दा पछाडि रहेको छ। जीवनस्तरमा काठमाडौँ ८४०औँ स्थानमा रहँदा मानवीय क्षमतामा ५६२औँ स्थानमा छ। त्यस्तै शासन र वातावरणमा क्रमशः ६३५औँ र ६३९औँ स्थान हासिल गरेको छ।

उप–सूचकअनुसार भने विभिन्न सहरले फरक–फरक क्षेत्रमा अग्रता हासिल गरेका छन्। जीवनस्तरतर्फ अस्ट्रेलियाको क्यानबेरा पहिलो स्थानमा रहेको छ। जीवनस्तरमा पहिलो भए पनि क्यानबेरा समग्र सूचीमा ४५औँ स्थानमा छ।

अर्थतन्त्रतर्फ न्युयोर्क पहिलो स्थानमा रहेको छ। यस सूचकमा शीर्ष आठमध्ये सात सहर अमेरिकाका रहेका छन्।

मानवीय क्षमताको सूचकमा लन्डन पहिलो स्थानमा परेको छ। वातावरणतर्फ अमेरिकाको होनोलुलु र शासनतर्फ डेनमार्कको राजधानी कोपनहेगन पहिलो स्थानमा रहेका छन्।

अक्सफोर्ड इकोनोमिक्सको ग्लोबल सिटी इन्डेक्सले विश्वका प्रमुख सहरहरूको आर्थिक तथा सामाजिक अवस्थाका साथै मानवीय क्षमता, जीवनस्तर, वातावरण र शासन प्रणालीलाई आधार बनाएर समग्र मूल्यांकन गर्ने गर्दछ। सूचकांकले विभिन्न सहरको विकासको अवस्था, अवसर र चुनौतीलाई तुलनात्मक रूपमा बुझ्न आधार प्रदान गर्ने बताइएको छ।

सन् २०२६ का शीर्ष १० सहर

  1. न्युयोर्क, अमेरिका — १०० अंक
  2. लन्डन, बेलायत — ९८.८ अंक
  3. पेरिस, फ्रान्स — ९३.४ अंक
  4. सियाटल, अमेरिका
  5. सान फ्रान्सिस्को, अमेरिका
  6. डब्लिन, आयरल्यान्ड
  7. बोस्टन, अमेरिका
  8. सान होजे, अमेरिका
  9. टोकियो, जापान
  10. ज्युरिख, स्विट्जरल्यान्ड
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका