नुवाकोट । भोटेकोशी बाढीबाट प्रभावित भई होल्डिङ सेन्टरमा बस्दै आएका विस्थापितहरू क्रमशः आश्रयस्थल छाडेर अस्थायी बसोबासतर्फ जान थालेका छन्।
गत भदौ १० गते आएको विनाशकारी बाढीका कारण जिल्लाका चार स्थानीय तहका बासिन्दा विस्थापित भएपछि उनीहरूलाई सुरक्षित रूपमा राख्न जिल्लाका विभिन्न स्थानमा होल्डिङ सेन्टर सञ्चालनमा ल्याइएको थियो।
होल्डिङ सेन्टरको बसाइ छोट्याउँदै प्रभावितलाई अस्थायी रूपमा कोठा भाडामा लिएर बस्न प्रोत्साहित गर्ने सरकारको अभियानसँगै प्रभावितहरू अस्थायी बसोबासतर्फ जान थालेका हुन्।
बाढी आएलगत्तै सरकारले उद्धार गरी प्रभावितलाई सुरक्षित स्थानमा पुर्याउने कार्यलाई प्राथमिकता दिएको थियो। त्यसपछि खोज तथा उद्धार, राहत वितरण तथा प्रभावितलाई सुरक्षित रूपमा राख्न होल्डिङ सेन्टर व्यवस्थापनमा जोड दिइएको थियो।
जिल्ला प्रशासन कार्यालय नुवाकोटका अनुसार गत भदौ १२ गते जिल्लाका १२ स्थानमा होल्डिङ सेन्टर निर्माण गरिएकामा आठ स्थानमा एक हजार २९० जना प्रभावितलाई राखिएको थियो।
भदौ २२ गतेसम्म आइपुग्दा होल्डिङ सेन्टर र त्यहाँ बसोबास गर्ने प्रभावितको संख्या सबैभन्दा धेरै पुगेको थियो। त्यस दिन जिल्लामा २८ वटा होल्डिङ सेन्टर सञ्चालनमा रहेका थिए भने त्यहाँ दुई हजार ६३७ जना प्रभावित बस्दै आएका थिए।
पछिल्लो समय भने होल्डिङ सेन्टरमा बस्ने प्रभावितको संख्या क्रमशः घट्दै गएको छ। बिहीबारसम्म जिल्लामा होल्डिङ सेन्टरको संख्या घटेर १६ मा पुगेको छ। ती सेन्टरमा ८३२ जना बसोबास गरिरहेको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिए।
उनका अनुसार होल्डिङ सेन्टर छाडेर प्रभावितहरू अस्थायी बसोबासको व्यवस्था मिलाउन थालेका छन्। बाढीपछि हेलिकप्टरलगायतका माध्यमबाट उद्धार गरी सुरक्षित स्थानमा ल्याइएका प्रभावितलाई खानपानसहितको बसोबासको व्यवस्था मिलाएर सरकारले सहजीकरण गर्दै आएको थियो।
यद्यपि, हराइरहेका आफन्तको खोजी कार्य भने जारी छ। बेपत्ता भएकाहरू नभेटिएपछि कतिपय परिवार अन्तिम संस्कारतर्फ समेत अघि बढ्न थालेका छन्। यससँगै होल्डिङ सेन्टरमा बस्ने प्रभावितको संख्या क्रमशः घट्दै गएको प्रजिअ रेग्मीले बताए।
होल्डिङ सेन्टरमा लामो समय बस्दा प्रभावितलाई थप असहज हुने भन्दै विदुर नगरपालिकाले कोठा भाडामा लिएर बस्न आग्रह गर्दै राहत कार्यक्रमसमेत घोषणा गरेको छ।
जिल्लामा सबैभन्दा धेरै प्रभावित रहेको विदुर नगरपालिकाले प्रभावित परिवारलाई कोठा भाडाबापत मासिक १० हजार रुपैयाँ उपलब्ध गराउने तथा आवश्यक बन्दोबस्तीका सामग्री राहतस्वरूप प्रदान गर्ने निर्णय गरेको छ।
नगरप्रमुख राजन श्रेष्ठका अनुसार होल्डिङ सेन्टर छाडेर कोठामा बस्न जाने प्रभावितलाई खाद्य सामग्री, भाँडाकुँडा, सरसफाइका सामग्रीलगायत आवश्यक सामग्री उपलब्ध गराउने निर्णयपछि कोठामा जाने प्रभावितको संख्या बढेको हो।
“बाढी प्रभावित कोठा लिएर बस्न थाल्नुभएको छ। पालिकाले घोषणा गरेको प्याकेज कार्यक्रम लिन आउनेको संख्या बढ्दो छ,” नगरप्रमुख श्रेष्ठले भने, “संघीय सरकारले पनि प्रतिपरिवार मासिक न्यूनतम १५ हजार रुपैयाँ दिने घोषणा गरेकाले दोहोरोपन नहोस् भनेर भाडाबापतको रकम दिन बाँकी छ।”
तीनै तहका सरकारले बाढीको जोखिमबाट उद्धार गरिएका प्रभावितलाई राख्न सञ्चालनमा ल्याइएका आश्रयस्थल खाली गर्न सहज होस् भनेर कोठा भाडाबापतको रकमसहित विभिन्न सुविधा घोषणा गरेका छन्। सरकारी घोषणासँगै प्रभावितहरूले पनि होल्डिङ सेन्टरको बसाइ छाडेर अस्थायी बसोबासको व्यवस्था मिलाउन थालेका छन्।
प्रभावितको सहजीकरणका लागि सरकारले उनीहरूको आवश्यकता र अवस्थाअनुसार विभिन्न विकल्प अघि सारेको छ। उपयुक्त स्थानमा कोठा नपाउने वा कोठामा बस्न नसक्ने प्रभावितका लागि अस्थायी संरचना निर्माण गर्ने तयारीसमेत भइरहेको छ।
सघन सहरी तथा भवन निर्माण आयोजना धादिङले बाढी प्रभावित क्षेत्रबाट विस्थापित भई होल्डिङ सेन्टरमा बस्दै आएका परिवारसँग प्रश्नावलीमार्फत उनीहरूको आवश्यकताबारे जानकारी सङ्कलन गरेको छ।
आयोजना प्रमुख शशेन्द्र घिमिरेका अनुसार रसुवा, नुवाकोट, धादिङ र चितवनका होल्डिङ सेन्टरमा बसोबास गर्ने दुई हजार २७ परिवारसँग प्रश्नावलीमार्फत विवरण सङ्कलन गरिएको छ। तीमध्ये करिब ३१ प्रतिशत परिवारले सरकारले निर्माण गर्ने अस्थायी आवासमा बस्न चाहेको बताएका छन्।
“सरकारले नै अस्थायी आवास निर्माण गरिदिए सहज हुने बताउनेमा अधिकांश रसुवाका प्रभावित छन्,” आयोजना प्रमुख घिमिरेले भने।
भोटेकोशी बाढीपछि सुरक्षित स्थानको खोजीमा विस्थापित भएका अधिकांश प्रभावित अहिले नुवाकोटमा बसोबास गरिरहेका छन्। आफ्नै नाममा सुरक्षित जग्गा नभएका कारण सरकारले अस्थायी संरचना निर्माण गरिदिए बसोबास गर्न सहज हुने उनीहरूले बताउँदै आएका छन्।


