Friday, September 18, 2026
Homeसामाचारगणेशमान सिंहको २९औँ स्मृति दिवस आज, कांग्रेसका भ्रातृ संस्थाद्वारा विविध कार्यक्रम आयोजना

गणेशमान सिंहको २९औँ स्मृति दिवस आज, कांग्रेसका भ्रातृ संस्थाद्वारा विविध कार्यक्रम आयोजना

काठमाडौँ । विसं २०४६ को जनआन्दोलनका सर्वोच्च कमाण्डर एवं नेपाली कांग्रेसका लौहपुरुष गणेशमान सिंहको २९औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ। नेपाली कांग्रेसका भ्रातृ तथा शुभेच्छुक संस्थाले सिंहको योगदानको स्मरण गर्दै विविध कार्यक्रम गर्न लागेका हुन्।

नेपाली राजनीतिमा त्याग, साहस र निष्ठाको उदाहरण प्रस्तुत गर्नुभएका सिंहले २०४६ सालको जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गरेको आग्रह अस्वीकार गर्दै आफ्ना समकक्षी कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्रीका रूपमा प्रस्ताव गर्नुभएको थियो।

विसं १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्रपाटीमा जन्मनुभएका सिंहको विसं २०५४ असोज २ गते निधन भएको थियो। उहाँले राणाशासन अन्त्यका लागि प्रजा परिषद्को सदस्यका रूपमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो।

विसं २००७ अघि भद्रगोल जेलबाट भाग्न सफल सिंह भारत पुग्नुभएको थियो। त्यहाँ उहाँले नेपाली कांग्रेसका नेता बिपी कोइरालासँग राजनीतिक सम्बन्ध स्थापित गर्नुभएको थियो। विसं २००३ मा स्थापना भएको नेपाली राष्ट्रिय कांग्रेसको नेतृत्वमा समेत उहाँ सक्रिय रहनुभएको थियो।

प्रजातन्त्र स्थापनाका लागि भएको विसं २००७ को क्रान्तिका एक प्रमुख अगुवाका रूपमा सिंहले वीरगन्ज मोर्चामा सशस्त्र सङ्घर्ष गर्नुभएको थियो।

विसं २०१५ को पहिलो आमनिर्वाचनपछि गठन भएको सरकारमा वरिष्ठ मन्त्री बन्नुभएका सिंहले विसं २०१७ मा प्रजातन्त्र अपहरण भएपछि लामो समय काराबास जीवन बिताउनुभयो। उहाँले सिंहदरबार र सुन्दरीजल बन्दीगृहमा गरी करिब आठ वर्ष बन्दी जीवन बिताउनुभएको थियो।

विसं २०२५ मा बिपी कोइरालासँगै सुन्दरीजल बन्दीगृहबाट रिहा भएपछि सिंहले भारत प्रवासमा राजनीतिक सङ्गठन विस्तारमा सक्रिय भूमिका निर्वाह गर्नुभयो। विसं २०३३ मा बिपीसँगै राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्कनुभएका उहाँ पञ्चायती व्यवस्थाविरुद्धको लोकतान्त्रिक आन्दोलनमा सक्रिय रहनुभयो।

गणेशमान सिंहलाई नेपाली लोकतान्त्रिक आन्दोलनमा त्याग, संघर्ष र निष्ठाका लागि महत्वपूर्ण राजनीतिक व्यक्तित्वका रूपमा स्मरण गरिन्छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका