काठमाडौं । अमेरिकी प्रतिबन्धबाट जोगिन इरानले चीनसँग विशेष प्रकारको वस्तु–विनिमय (बार्टर) प्रणाली अपनाएको छ। यस व्यवस्थाअन्तर्गत इरानले तेलको बदलामा चीनबाट अर्बौँ डलर बराबरका सामान खरिद गरेको रोयटर्सलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
स्रोतहरूका अनुसार इरानले चीनबाट खरिद गरेका सामानमा हवाई रक्षा (एयर डिफेन्स) उपकरणसमेत समावेश छन्। प्रत्यक्ष रूपमा रकम भुक्तानी गर्नुको सट्टा तेलसँग सामान साट्ने व्यवस्थाले अन्तर्राष्ट्रिय वित्तीय प्रणालीमार्फत हुने कारोबारको निगरानीबाट बच्न सहज हुने बताइएको छ।
अमेरिकाले इरानको तेल बिक्री तथा वैदेशिक मुद्रामा पहुँच सीमित गर्ने उद्देश्यले लामो समयदेखि विभिन्न प्रतिबन्ध लगाउँदै आएको छ। पछिल्लो समय युद्धका कारण ती प्रतिबन्ध थप कडा पारिएको अवस्थामा इरानले वैकल्पिक व्यापारिक माध्यम प्रयोग गरिरहेको स्रोतहरूको दाबी छ।
सामान्यतया तेल बिक्री गर्दा डलर वा अन्य मुद्रामा भुक्तानी हुने र त्यस्तो कारोबार बैंकिङ प्रणालीमार्फत निगरानी गर्न सकिन्छ। तर बार्टर प्रणालीमा प्रत्यक्ष रकमको कारोबार नगरी वस्तुको साटासाट गरिने भएकाले कारोबारको वित्तीय निगरानी तुलनात्मक रूपमा कठिन हुने गर्छ।
स्रोतहरूका अनुसार इरानले चीनबाट गरेको सामान खरिदको मूल्य अर्बौँ डलर बराबर छ। त्यसमा हवाई रक्षा उपकरण पनि समावेश हुनु विशेष चासोको विषय बनेको छ।
चीन लामो समयदेखि इरानी तेलको प्रमुख खरिदकर्ता रहँदै आएको छ। तेलको बदलामा विभिन्न वस्तु तथा उपकरण प्राप्त गर्ने यस्तो व्यवस्थाले इरान र चीनबीचको आर्थिक सम्बन्धसँगै रणनीतिक सहकार्यसमेत थप गहिरिँदै गएको संकेत गरेको छ।


