काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा अवरुद्ध सडक भदौ महिनाभित्रै सञ्चालनमा ल्याउने लक्ष्यसहित सरकारले निर्माण कार्य तीव्र पारेको छ।
कृष्णभीरमा पहाड काटेर करिब २५० मिटर नयाँ ट्रयाक निर्माण गर्न १० वटा मेसिन र ३० जना कर्मचारी परिचालन गरिएको छ। रातको समयमा समेत कामलाई निरन्तरता दिन सशस्त्र प्रहरी बल, नेपालले निर्माण क्षेत्रमा फ्लडलाइट जडान गरेको छ। यसका कारण दैनिक १२ देखि १४ घण्टासम्म निर्माण कार्य भइरहेको छ।
नयाँ ट्रयाक निर्माणसँगै पहिरो रोकथामका लागि सडकको माथिल्लो र तल्लो दुवै क्षेत्रमा काम भइरहेको छ। साथै, पृथ्वी राजमार्गका अन्य पाँच स्थानमा गएको पहिरो पन्छाएर दुईतर्फी यातायात सञ्चालन गर्ने काम पनि सँगसँगै भइरहेको छ।
भदौ १० गते बाढीका कारण कृष्णभीर क्षेत्रको सडक कमजोर बनेको थियो। त्यसपछि भदौ १४ गते भोटेकोशीमा आएको बाढीले सडक थप भासिएपछि सोही दिन सरकारी टोलीले स्थलगत निरीक्षण गरेको थियो। त्यसक्रममा प्रधानमन्त्री र पूर्वाधारमन्त्रीबीच सडक तत्काल मर्मत गरी यातायात सञ्चालन गर्ने विषयमा छलफल भएको थियो।
त्यसपछि सडक विभाग र नेपाल जियोटेक्निकल सोसाइटीका प्राविधिक टोलीले चार दिनसम्म द्रुत अध्ययन गरेका थिए। अध्ययनपछि कृष्णभीरको पहाड काटेर करिब २५० मिटर नयाँ ट्रयाक निर्माण गर्ने विकल्पलाई प्राथमिकताका साथ अघि बढाइएको हो।


