Sunday, September 6, 2026
Homeअर्थ र ब्यापाररसुवागढीमा सडकमार्ग अवरुद्ध भएपछि केरुङका सामान कोरला नाकाबाट ल्याइँदै

रसुवागढीमा सडकमार्ग अवरुद्ध भएपछि केरुङका सामान कोरला नाकाबाट ल्याइँदै

रसुवा । भोटेकोशी नदीमा आएको बाढीले सडक, पुललगायतका भौतिक संरचना ध्वस्त भएपछि चीनको केरुङमा भण्डारण गरिएका व्यापारिक सामान वैकल्पिक मार्ग हुँदै कोरला नाकाबाट नेपाल ल्याउन थालिएको छ।

हिमपहिरोसहित ल्हेन्दे खोला हुँदै भोटेकोशी नदीमा आएको भीषण बाढीले रसुवागढीस्थित दुवैतर्फका सरकारी कार्यालयसहित सडकमार्ग बगाएपछि केरुङका गोदाममा रहेका ४०० भन्दा बढी कन्टेनरमा रहेका सामान वैकल्पिक सडकमार्गबाट ढुवानी गर्न सुरु गरिएको ‘मुसा ट्रान्सपोर्ट’ले जनाएको छ।

मुसा ट्रान्सपोर्टका प्रबन्ध निर्देशक ज्याङ सेपिङका अनुसार बाढीले रसुवागढीमा ठूलो क्षति पुर्‍याएपछि त्यहाँका भौतिक संरचना र काठमाडौँ जोड्ने सडकमार्ग पुनः सञ्चालन हुन समय लाग्ने देखिएको छ। त्यसैले कोरला नाका प्रयोग गरी सामान नेपालतर्फ ल्याउने काम तीव्र पारिएको हो।

उनले दसैँ–तिहारजस्ता ठूला चाडपर्व नजिकिँदै गर्दा छोटो सडकमार्ग प्रयोग गरी व्यापारिक सामान ढुवानी गर्ने कामलाई प्राथमिकता दिइएको बताए।

यसअघि सामान ढुवानीका क्रममा रसुवागढी–त्रिशूली सडकखण्डमा रहेका कैयौँ कन्टेनरसमेत बाढीले बगाउँदा जनधनको क्षति भएको थियो।

ज्याङका अनुसार नेपाली व्यापारी तथा व्यवसायीले चिनियाँ उत्पादक कम्पनीबाट खरिद गरेका सामान नेपाल ल्याउने क्रममा सीमावर्ती क्षेत्रसम्म ढुवानी गर्ने जिम्मेवारी पूरा गर्दै आएका छन्।

उनका अनुसार उनका पुर्खाहरू व्यापार–व्यवसायका सिलसिलामा काठमाडौँको बागबजार हुँदै तिब्बतसम्म जाने गरेका थिए। हाल उनी मुसा ट्रान्सपोर्टमार्फत चीनको सिगात्से सहरमा रहेर नेपालको सीमा नाकासम्म व्यापारिक सामान ढुवानीको कारोबार गर्दै आएका छन्।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका