काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीले रसुवा र नुवाकोटका जलविद्युत् आयोजनामा ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको पाँच दिन बितिसक्दा पनि विभिन्न आयोजनाका सुरुङ तथा पावरहाउसमा फसेका सयौँ श्रमिक र प्राविधिकको उद्धार हुन सकेको छैन।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अनुसार रसुवा र नुवाकोटका ११ वटा जलविद्युत् आयोजनामा कार्यरत ८९८ जना कर्मचारी तथा श्रमिक सम्पर्कविहीन छन्। उनीहरूमध्ये ठूलो संख्या सुरुङ तथा पावरहाउसमा फसेको आशंका गरिएको छ।
आवश्यक जनशक्ति, आधुनिक उपकरण, भौगोलिक जटिलता तथा पूर्वाधारको अभावका कारण उद्धारमा ढिलाइ भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। उद्धार कार्यलाई तीव्रता दिन भारतीय र चिनियाँ विशेषज्ञसहित आधुनिक प्रविधि परिचालन गरिएको प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीले बताएका छन्।
उप्रेतीका अनुसार सुरुङभित्र जीवित वा मृत अवस्थामा रहेका व्यक्तिको पहिचान गर्न अत्याधुनिक स्क्यानिङ उपकरण प्रयोग भइरहेको छ। प्रविधिको प्रयोग गरेर उद्धारको प्रयास भइरहे पनि जटिल भूबनोटका कारण काममा समय लागिरहेको उनले बताए।
माथिल्लो त्रिशूली–१ मा करिब ३०० जना सुरुङभित्र
आइतबार दिउँसोसम्मको विवरणअनुसार २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा मात्रै करिब ३०० जना श्रमिक सुरुङभित्र फसेको अनुमान गरिएको छ।
आयोजनामा कुल ५७६ जना सम्पर्कविहीन भएकोमा हालसम्म २५४ जनाको उद्धार भएको जनाइएको छ।
त्यस्तै, २० मेगावाटको लाङटाङ खोला जलविद्युत् आयोजनाको सुरुङमा २५ जना श्रमिक अझै फसेका छन्। यस आयोजनाबाट हालसम्म १८ जनाको उद्धार गरिएको छ।
६० मेगावाटको माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङभित्र ४२ जना फसेको नेपाल विद्युत् प्राधिकरणको अनुमान छ।
आयोजना प्रतिनिधिहरूका अनुसार सुरुङभित्र अक्सिजनको अभाव र बढ्दो चिसोका कारण फसेका श्रमिकको अवस्था थप जोखिमपूर्ण बन्दै गएको छ।
लाङटाङ आयोजनाका प्रवर्द्धक विजयमान भट्टराईले सुरुङमा फसेका २५ जनाको उद्धारका लागि तत्काल ठोस प्रयास आवश्यक रहेको बताए। उनका अनुसार चार दिनसम्म प्रभावकारी उद्धार प्रयास सुरु हुन नसकेको भन्दै आफन्तहरू चिन्तित छन्।
आफन्तको प्रश्न– ‘जिउँदै छन् भने किन तत्काल उद्धार नगर्ने?’
रसुवाको धुन्चेमा आफ्ना आफन्तको अवस्था बुझ्न पुगेका परिवारहरू उद्धारको प्रतीक्षामा छन्। म्याग्दीबाट आफ्ना बेपत्ता बुवा खोज्न आएका एक बालक र उनका मामा जसिन्द्र रसाइलीको अवस्था झनै मर्मस्पर्शी छ।
रसाइलीका अनुसार उनको गाउँ र छिमेकी जिल्लाबाट मात्रै २० जनाभन्दा बढी मानिस बेपत्ता छन्। सुरुङभित्र फसेका मानिस जीवितै रहेको हुन सक्ने आशामा परिवारहरू उद्धारको प्रतीक्षा गरिरहेका छन्।
उनले सुरुङभित्र फसेकाहरूको अवस्था पत्ता लगाउन र तत्काल उद्धार गर्न सरकारसँग आग्रह गरेका छन्।
११ जलविद्युत् आयोजना प्रभावित
इप्पानका अनुसार बाढीबाट रसुवा र नुवाकोटका ११ वटा जलविद्युत् आयोजना नराम्ररी प्रभावित भएका छन्।
रसुवामा माथिल्लो त्रिशूली–१, रसुवागढी, रसुवा–भोटेकोशी, लाङटाङ खोला, चिलिमे र मैलुङ खोला जलविद्युत् आयोजना प्रभावित भएका छन्।
माथिल्लो त्रिशूली–१ मा ५७६ जना सम्पर्कविहीन भएकोमा २५४ जनाको उद्धार भएको र करिब ३०० जना अझै सुरुङभित्र फसेको अनुमान छ। रसुवागढी आयोजनामा ९३ जना तथा रसुवा–भोटेकोशीमा ४ जना सम्पर्कविहीन छन्। चिलिमे आयोजनामा ८ जना र मैलुङ खोलामा ७ जना सम्पर्कविहीन रहेको विवरण छ।
लाङटाङ खोलामा ४२ जना सम्पर्कविहीन भएकोमा १८ जनाको उद्धार भइसकेको र २५ जना सुरुङभित्रै फसेको बताइएको छ।
नुवाकोटका माथिल्लो त्रिशूली–३ ‘बी’, माथिल्लो त्रिशूली–३ ‘ए’, मिडल त्रिशूली गंगा, त्रिशूली जलविद्युत् र देवीघाट जलविद्युत् आयोजना पनि प्रभावित भएका छन्।
माथिल्लो त्रिशूली–३ ‘बी’ मा १२२ जना सम्पर्कविहीन भएकोमा ११ जनाको जीवितै उद्धार भएको छ। माथिल्लो त्रिशूली–३ ‘ए’ मा ४२ जना सुरुङभित्र फसेको अनुमान गरिएको छ। मिडल त्रिशूली गंगामा २ जना, त्रिशूली जलविद्युत्मा १ जना र देवीघाट जलविद्युत्मा १ जना सम्पर्कविहीन छन्।
विदेशी विज्ञ टोली परिचालनमा विवाद
इप्पानका अध्यक्ष मोहनकुमार डाँगीले माथिल्लो त्रिशूली–१ मा कोरियन प्राविधिकहरूले उद्धारको जिम्मेवारी लिन खोजे पनि सरकारले अनुमति नदिएको दाबी गरेका छन्।
उनले सुरुङमा फसेकाहरूलाई जतिसक्दो छिटो उद्धार गर्नुपर्ने भन्दै विपद्को समयमा राष्ट्रियता वा प्रक्रियागत विषयभन्दा नागरिकको जीवन बचाउने कामलाई प्राथमिकता दिनुपर्ने बताए।
उनका अनुसार सरकारी आयोजनामा विदेशी प्राविधिकको सहयोग लिइए पनि निजी क्षेत्रका आयोजनामा आवश्यक सहयोग नपुगेको गुनासो छ।
निजी क्षेत्रलाई आफ्नै खर्चमा उद्धार गर्न दिन माग
नेपाल इन्जिनियर्स एसोसिएसन, इप्पान र नेपाल टनेलिङ एसोसिएसनलगायत संस्थाहरूले संयुक्त विज्ञप्ति जारी गर्दै सुरुङभित्र फसेकाहरूको उद्धारका लागि तत्काल विशेष टोली र उपकरण परिचालन गर्न माग गरेका छन्।
उनीहरूले निजी क्षेत्रका प्रवर्द्धकलाई आफ्नै खर्चमा हेलिकप्टर प्रयोग गर्न दिन तथा उद्धारमा आवश्यक प्रशासनिक झन्झट हटाउन सरकारसँग आग्रह गरेका छन्।
प्राविधिक संस्थाहरूले उद्धार कार्यमा आवश्यक इन्जिनियरिङ विज्ञता उपलब्ध गराउने प्रतिबद्धता जनाउँदै विपद्को समयमा सरकारी र निजी क्षेत्रका सबै स्रोत–साधन परिचालन गर्नुपर्ने बताएका छन्।
माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धार प्रयास
नुवाकोटस्थित माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनामा भने उद्धार प्रयास अघि बढाइएको छ। नेपाली सेनाका ६६, सशस्त्र प्रहरीका १८ र नेपाल प्रहरीका ६ गरी ९० जनाको संयुक्त टोली परिचालन गरिएको छ।
सेनाले सुरुङको क्राउन हेडमा करिब २–३ फिटको प्वाल बनाएर भित्र पस्ने प्रयास गरेको थियो। डोरीको सहायताले टोली सुरुङभित्र झरेर आवाज दिँदा भित्रबाट कुनै प्रतिक्रिया नआएको जनाइएको छ।
अब प्वाल फराकिलो बनाएर वा आवश्यकताअनुसार ब्लास्टिङ गरेर सुरुङभित्र प्रवेश गर्ने तयारी भइरहेको नेपाली सेनाले जनाएको छ।
तर, माथिल्लो त्रिशूली–१ र लाङटाङजस्ता दुर्गम क्षेत्रमा रहेका आयोजनामा भने अझै प्रभावकारी उद्धार सुरु हुन सकेको छैन।
सय घण्टाभन्दा बढी बित्दा पनि अवस्था अज्ञात
बाढी आएको सय घण्टाभन्दा बढी भइसकेको अवस्थामा सुरुङभित्र कति अक्सिजन बाँकी छ, फसेका श्रमिकको अवस्था कस्तो छ र उनीहरू कति समयसम्म जीवित रहन सक्छन् भन्नेबारे यकिन विवरण सार्वजनिक हुन सकेको छैन।
प्रधानमन्त्री र गृहमन्त्रीले उद्धारमा कुनै कसर बाँकी नराख्ने बताइरहे पनि घटनास्थलमा रहेका आफन्तहरू भने आफ्ना प्रियजनको सास पाउने कि लास, भन्ने अन्योलमा छन्।
हालसम्म विभिन्न जलविद्युत् आयोजनाबाट ३६१ जनाको उद्धार भएको जनाइएको छ। जसमध्ये माथिल्लो त्रिशूली–१ बाट २५४ जना, लाङटाङबाट १८ जना र माथिल्लो त्रिशूली–३ ‘बी’ बाट ९१ जनाको जीवितै उद्धार गरिएको छ।


