Thursday, August 27, 2026
Homeसामाचारभोटेकोशी बाढीपछि रसुवागढी नाका अनिश्चितकालका लागि ठप्प, ५०० भन्दा बढी कन्टेनर बगे

भोटेकोशी बाढीपछि रसुवागढी नाका अनिश्चितकालका लागि ठप्प, ५०० भन्दा बढी कन्टेनर बगे

काठमाडौं । भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीका कारण नेपाल–चीनबीचको प्रमुख व्यापारिक नाका रसुवागढी अनिश्चितकालका लागि ठप्प भएको छ। बाढीका कारण चीनबाट नेपाल भित्रिँदै गरेका ५०० भन्दा बढी सामान बोकेका कन्टेनर बगेको नेपाल हिमालय सीमापार वाणिज्य संघले जनाएको छ।

संघका महासचिव रामचन्द्र पराजुलीका अनुसार बाढीबाट भएको मानवीय क्षति सबैभन्दा ठूलो विषय भए पनि व्यापारिक क्षेत्रमा समेत ठूलो क्षति पुगेको छ। बगेका कन्टेनरमा दैनिक उपभोग्य वस्तुदेखि इलेक्ट्रोनिक्स तथा विद्युतीय सवारी (ईभी) लगायत विभिन्न प्रकारका सामान रहेको उनले बताए।

“दैनिक उपभोग्य वस्तुदेखि इलेक्ट्रोनिक्स, विद्युतीय सवारी (ईभी) लगायतका विभिन्न सामान कन्टेनरमा थिए,” पराजुलीले भने, “यसबाट अर्बौं रुपैयाँ बराबरको क्षति भएको हुन सक्छ।”

बाढीका कारण सीमाक्षेत्रको अवस्था अत्यन्त जटिल बनेको र नाका सञ्चालनमा आउन समय लाग्न सक्ने संघले जनाएको छ। चीनबाट नेपालमा लत्ताकपडा, फलफूल, विद्युतीय सामग्री तथा अन्य दैनिक उपभोग्य वस्तु ठूलो परिमाणमा आयात हुँदै आएको छ।

रसुवागढी चीनबाट नेपालमा सामान भित्रिने प्रमुख नाका भएकाले लामो समयसम्म नाका अवरुद्ध हुँदा बजारमा वस्तुको आपूर्ति प्रभावित भई मूल्यवृद्धिको दबाब पर्न सक्ने पराजुलीले बताए।

विशेषगरी दशैं–तिहारलाई लक्षित गरी आयात गरिने वस्तुको आपूर्तिमा असर पर्न सक्ने भन्दै संघले चिन्ता व्यक्त गरेको छ। नाका अवरुद्ध भएपछि व्यापारिक गतिविधि प्रभावित हुनुका साथै आयातकर्ताको ठूलो रकमसमेत जोखिममा परेको संघको भनाइ छ।

संघले बाढीबाट भएको क्षति तथा सीमाक्षेत्रको अवस्थाबारे जानकारी गराउन गृहमन्त्री र गृह मन्त्रालयका उच्च अधिकारीसँग छलफल गरेको जनाएको छ। महासचिव पराजुलीका अनुसार गृह मन्त्रालयले समेत घटनाको विस्तृत विवरण संकलन गरिरहेको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका