चितवन । चीनको स्वशासित क्षेत्र तिब्बतबाट आएको बाढीका कारण भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि त्रिशूली र नारायणी नदी क्षेत्रमा बेपत्ताको खोजी तथा उद्धार कार्य जारी छ। हालसम्म नदी किनारका विभिन्न स्थानबाट ६४ वटा शव तथा मानव शरीरका अङ्ग फेला परेको प्रहरीले जनाएको छ।
बाढीले बगाएर ल्याएका शव त्रिशूली हुँदै नारायणी नदीसम्म विभिन्न स्थानमा फेला परिरहेका छन्। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका टोलीले नदी किनार तथा आसपासका क्षेत्रमा खोजी कार्यलाई निरन्तरता दिइरहेका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार फेला परेका शवमध्ये केही सग्लो अवस्थामा छन् भने केही मानव शरीरका अङ्ग मात्र फेला परेका छन्। शव तथा मानव अङ्गलाई पहिचान र आवश्यक प्रक्रिया पूरा गर्न भरतपुर अस्पतालको शवगृहमा राखिएको छ।
तर, लगातार शव फेला पर्न थालेपछि भरतपुर अस्पतालको शवगृहमा समेत ठाउँको अभाव भएको प्रहरीले जनाएको छ। पौडेलका अनुसार तनहुँमा फेला परेका नौ शवसमेत व्यवस्थापनका लागि चितवन पठाइएको थियो। शवगृहमा पर्याप्त ठाउँ नभएपछि ती शव पुनः तनहुँ पठाइएको उनले जानकारी दिए।
बाढीपछि बेपत्ता भएका व्यक्तिको खोजीका लागि चितवनमा तीनवटै सुरक्षा निकायका टोली परिचालन भएका छन्। त्रिशूली र नारायणी नदी किनारका विभिन्न क्षेत्रमा खोजी कार्यलाई तीव्र बनाइएको प्रहरीले जनाएको छ।
नदीको बहावसँगै शवहरू टाढासम्म पुग्न सक्ने भएकाले नदी किनारका बस्ती तथा आसपासका क्षेत्रमा समेत निगरानी र खोजी भइरहेको छ। फेला परेका शवको पहिचान तथा परिवारजनसँग समन्वयका लागि सम्बन्धित निकायले आवश्यक प्रक्रिया अघि बढाइरहेका छन्।
भरतपुर अस्पतालको शवगृहमा क्षमता अभाव भएपछि थप फेला पर्ने शवलाई अस्थायी रूपमा व्यवस्थापन गर्न वैकल्पिक स्थानको तयारीसमेत गरिएको छ। आवश्यक परे औद्योगिक प्रतिष्ठानको कार्यालय परिसरमा शव व्यवस्थापन गर्ने गरी तयारी भइरहेको प्रहरीले जनाएको छ।
भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली र नारायणी नदी किनारमा शव तथा मानव शरीरका अङ्ग फेला पर्ने क्रम जारी रहेकाले सुरक्षा निकायले खोजी कार्यलाई निरन्तरता दिएको छ।


