Saturday, August 15, 2026
Homeअन्तराष्ट्रियभारतमा आज ८०औँ स्वतन्त्रता दिवस मनाइँदै

भारतमा आज ८०औँ स्वतन्त्रता दिवस मनाइँदै

काठमाडौं । भारतले आज ८०औँ स्वतन्त्रता दिवस मनाउँदैछ। सन् १९४७ अगस्ट १५ मा ब्रिटिस शासनबाट स्वतन्त्र भएको अवसरमा भारतले विभिन्न कार्यक्रम आयोजना गरी स्वतन्त्रता दिवस मनाउन लागेको हो।

स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले बिहान नयाँदिल्लीस्थित राजघाट पुगेर राष्ट्रपिता महात्मा गान्धीलाई श्रद्धाञ्जली अर्पण गरेका छन्। उनले स्वतन्त्रता संग्राममा योगदान पुर्‍याउने सेनानीहरूको बलिदानको स्मरण गर्दै देशवासीलाई स्वतन्त्रता दिवसको शुभकामना दिएका छन्।

प्रधानमन्त्री मोदीले शनिबार दिल्लीस्थित ऐतिहासिक लालकिल्लाबाट राष्ट्रिय झण्डा फहराउने र राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम रहेको छ। लालकिल्लाबाट मोदीले लगातार १३औँ पटक स्वतन्त्रता दिवसका अवसरमा सम्बोधन गर्न लागेका हुन्।

यस वर्षको समारोहमा राष्ट्रिय गीत ‘वन्दे मातरम्’को १५०औँ वर्षगाँठलाई विशेष महत्व दिइएको छ। समारोहमा पहिलोपटक लालकिल्लाबाट ‘वन्दे मातरम्’ सामूहिक रूपमा प्रस्तुत गरिने कार्यक्रम रहेको छ। साथै ‘विकसित भारत–२०४७’ निर्माणमा युवाशक्तिको भूमिकालाई समेत विशेष प्राथमिकता दिइनेछ।

समारोहमा भारतीय सेना, नौसेना, वायुसेना र दिल्ली प्रहरीका सुरक्षाकर्मीले प्रधानमन्त्रीलाई गार्ड अफ अनर प्रस्तुत गर्नेछन्। झण्डोत्तोलनका क्रममा २१ तोपको सलामी दिइने कार्यक्रम छ।

समारोहमा सेना, नौसेना र वायुसेनाका करिब २ हजार ५ सय छात्रछात्रा तथा ‘माइ भारत’का स्वयंसेवक सहभागी हुनेछन्। उनीहरूले ज्ञानपथमा बसेर ‘वन्दे मातरम्’ शब्दको आकृति बनाउनेछन्।

स्वतन्त्रता दिवस समारोहमा विभिन्न क्षेत्रका करिब ५ हजार विशेष अतिथिलाई निमन्त्रणा गरिएको छ। महिला उद्यमी, सरसफाइ कर्मचारी, सडक व्यापारी, युवा नवप्रवर्तक, वैज्ञानिक, स्टार्टअप संस्थापक, कलाकार, किसान, विद्यार्थी तथा सरकारी योजनाका लाभग्राहीलाई समारोहमा सहभागी गराइनेछ।

भारतभर स्वतन्त्रता दिवसका अवसरमा विभिन्न सांस्कृतिक, राष्ट्रिय तथा देशभक्तिमूलक कार्यक्रमसमेत आयोजना भइरहेका छन्।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका