काठमाडौँ । जापानमा एक महिलाले अनलाइन स्टोरबाट करिब ४.३ अर्ब येन मूल्यका सामान हजारौँपटक अर्डर गरेर रद्द गरेको घटना सार्वजनिक भएको छ । अचम्मको कुरा, उनले ती सामान वास्तवमै किन्न चाहेको नभई अर्डर गर्ने र पछि रद्द गर्ने क्रम निरन्तर चलाएको प्रहरीले जनाएको छ ।
जापानी सञ्चारमाध्यमका अनुसार ३२ वर्षीया मायू योशिदाले चर्चित एनिमे र मङ्गा शृङ्खलासँग सम्बन्धित सामग्रीहरू लक्षित गरी दुई हजारभन्दा बढी अर्डर गरेकी थिइन् । उनले सामान किन्न खर्च गरेको रकम भने ४.३ अर्ब येन होइन । उक्त रकम उनले अर्डर गरेका सामानको कुल मूल्य हो ।
प्रहरीका अनुसार योशिदाले करिब २३८ वटा फरक–फरक अनलाइन खातामार्फत अर्डर गरेकी थिइन् । कतिपय अर्डरमा उनले समयमै भुक्तानी नगरेकाले ती स्वतः रद्द भएका थिए भने धेरैपटक ‘क्यास अन डेलिभरी’ अर्थात् सामान प्राप्त भएपछि भुक्तानी गर्ने विकल्प रोजेकी थिइन् ।
सामान उनको ठेगानामा पुगेपछि भने उनले पार्सल लिन अस्वीकार गर्ने गरेको प्रहरीको भनाइ छ । यसरी दुई हजारभन्दा बढी अर्डर रद्द भएको बताइएको छ ।
गलत ठेगानासमेत प्रयोग
अनुसन्धानका क्रममा उनले केही अर्डरमा गलत वा काल्पनिक ठेगाना प्रयोग गरेको पनि खुलेको छ । यसका कारण कम्पनीलाई सामान पठाउन, फिर्ता ल्याउन तथा पुनः व्यवस्थापन गर्न थप कठिनाइ भएको थियो ।
बारम्बार अर्डर रद्द हुँदा कम्पनीले प्याकिङ, ढुवानी, डेलिभरी तथा सामान फिर्ता ल्याउनेलगायतका खर्च व्यहोर्नुपरेको थियो । जापानी प्रकाशन कम्पनी ‘स्वेसा’ का अनुसार यो घटनाका कारण कम्पनीलाई करिब ७५ लाख येन अर्थात् करिब ७२ लाख रुपैयाँ बराबरको आर्थिक नोक्सानी भएको बताइएको छ ।
तनावबाट राहत पाउन अर्डर गर्ने गरेको बयान
प्रहरीको सोधपुछका क्रममा योशिदाले आफ्नो व्यवहारको कारणसमेत बताएकी छन् । आफूलाई एनिमे निकै मन पर्ने र आफूले मन पराएका सामग्री अनलाइनमा देख्दा ती अर्डर गर्न पाउँदा खुसी लाग्ने गरेको उनले बताएकी छन् ।
उनका अनुसार दैनिक जीवनमा रहेको तनावका कारण मनपर्ने सामान देखेपछि अर्डर गर्दा आफूलाई केही समयका लागि राहत र सन्तुष्टि महसुस हुन्थ्यो । तर, सामान प्राप्त गरेर प्रयोग गर्ने उद्देश्य भने सधैँ नहुने उनको बयान छ ।
उनले कम्पनीप्रति कुनै व्यक्तिगत रिस वा दुस्मनी नरहेको पनि प्रहरीसमक्ष बताएकी छन् ।
दुई वर्षसम्म चल्यो अर्डर रद्द गर्ने क्रम
रिपोर्टअनुसार योशिदाले करिब ६ वर्षअघि उक्त अनलाइन स्टोरबाट सामान किन्न सुरु गरेकी थिइन् । सुरुमा उनी आफूले अर्डर गरेका सामान खरिद गर्ने र पार्सलसमेत बुझ्ने गर्थिन् ।
तर सन् २०२३ को अक्टोबरतिर उनको व्यवहार परिवर्तन भयो । त्यसपछि उनले बारम्बार सामान अर्डर गर्ने र विभिन्न कारणले रद्द गर्ने क्रम सुरु गरिन् । करिब दुई वर्षसम्म यस्तो गतिविधि जारी रहेको बताइएको छ ।
लगातार आर्थिक नोक्सानी हुन थालेपछि कम्पनीले घटनाबारे प्रहरीलाई जानकारी गराएको थियो । प्रहरीले अनुसन्धान अघि बढाएपछि योशिदालाई पक्राउ गरेको हो ।
उनीमाथि ठगीजन्य गतिविधिमार्फत व्यवसायमा बाधा पुर्याएको आशङ्कामा अनुसन्धान भइरहेको छ । प्रहरीले सोधपुछ गर्दा उनले आफूले गरेका गतिविधि स्वीकार गरेको बताइएको छ ।


