Thursday, July 30, 2026
Homeखेलकुदविश्वकप लिग–२ : नेदरल्यान्डसँग ५७ रनले पराजित हुँदै नेपाल जितविहीन

विश्वकप लिग–२ : नेदरल्यान्डसँग ५७ रनले पराजित हुँदै नेपाल जितविहीन

काठमाडौं । आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गत बुधबार सम्पन्न खेलमा नेपाल नेदरल्यान्डसँग ५७ रनले पराजित भएको छ। नेदरल्यान्ड्सको युट्रेच्टमा भएको खेलमा घरेलु टोलीले दिएको २२६ रनको लक्ष्य पछ्याएको नेपाल ४८ ओभरमा सबै विकेट गुमाउँदै १६८ रनमा समेटियो।

नेपालका लागि आसिफ शेखले सर्वाधिक ३८ रन बनाए। रोहित पौडेलले २६ र करण केसीले २३ रन जोडे। अन्य ब्याट्सम्यानले उल्लेखनीय साझेदारी गर्न नसक्दा नेपाल लक्ष्यसम्म पुग्न असफल भयो।

नेदरल्यान्डका काइल क्लाइनले तीन विकेट लिए भने लोगान भान बिक, रुलोफ भान डर मर्वे र ज्याक लायन–काचेटले समान दुई–दुई विकेट हात पारे।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २२५ रन बनाएको थियो। उसका लागि नोआ क्रोसले ७० रन र कप्तान स्कट एडवर्ड्सले ५७ रनको महत्वपूर्ण योगदान दिए।

नेपालका करण केसीले उत्कृष्ट बलिङ गर्दै १० ओभरमा ३० रन खर्चेर चार विकेट लिए। दीपेन्द्र सिंह ऐरीले दुई तथा हेमन्त धामी र ललित राजवंशीले समान एक–एक विकेट लिए।

यस हारसँगै नेपाल विश्वकप लिग–२ को आठौँ त्रिकोणात्मक शृङ्खलामा जितविहीन बनेको छ। यसअघि पनि नेपाल नेदरल्यान्डसँग ६ विकेटले तथा नामिबियासँग क्रमशः ८ विकेट र ३ रनले पराजित भएको थियो।

अंक तालिकामा ३१ खेलबाट ३८ अंक जोडेको नेदरल्यान्ड दोस्रो स्थानमा उक्लिएको छ। ३२ खेलबाट २४ अंकसहित नेपाल छैटौँ स्थानमा रहेको छ भने ४३ अंकसहित अमेरिका शीर्ष स्थानमा कायम छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका