Wednesday, July 1, 2026
Homeसूचना प्रविधिनेपाली गीत–संगीत निर्माणमा सुस्ती, लगानी संकटदेखि एआईसम्मका चुनौती

नेपाली गीत–संगीत निर्माणमा सुस्ती, लगानी संकटदेखि एआईसम्मका चुनौती

काठमाडौं। पछिल्लो समय नेपाली गीत–संगीत निर्माणको गति उल्लेखनीय रूपमा घट्दै गएको छ। केही वर्षअघिसम्म दैनिक ५ देखि ७ वटासम्म नयाँ गीत सार्वजनिक हुने बजारमा अहिले फाट्टफुट्ट मात्र नयाँ सिर्जना आउन थालेका छन्। संगीतकर्मीहरूका अनुसार घट्दो लगानी, युट्युबबाट कम हुँदै गएको आम्दानी, सामाजिक सञ्जालको बदलिँदो प्रयोग र कृत्रिम बुद्धिमत्ता (एआई) को प्रभावले संगीत उद्योग चुनौतीपूर्ण अवस्थामा पुगेको छ।

कोरियोग्राफर तथा निर्देशक गम्भीर विष्टका अनुसार पहिले महिनामा ८ देखि १० वटा म्युजिक भिडियो निर्देशन गर्ने व्यस्तता अहिले घटेर २ देखि ४ वटामा सीमित भएको छ। उनका अनुसार युट्युबमा अर्ग्यानिक भ्युज घट्नु, भिडियो प्रवर्द्धनका लागि अतिरिक्त खर्च गर्नुपर्ने अवस्था र आर्थिक मन्दीका कारण गीत–संगीतमा लगानी घटेको छ।

‘पहिले ५–७ लाख रुपैयाँको बजेटमा बन्ने भिडियो अहिले २–३ लाखमै बनाउन खोजिन्छ। टिकटकमा भिडियो भाइरल भए पनि त्यसले युट्युबमा अपेक्षित प्रतिफल दिँदैन,’ विष्टले भने।

संगीतकार तथा एरेन्जर राकेश सोनीले पनि गीत निर्माणमा उल्लेखनीय गिरावट आएको बताए। उनका अनुसार महिनामा १५–२० वटा गीत एरेन्ज गर्ने काम अहिले घटेर ८–१० वटामा सीमित भएको छ।

‘अडियो र भिडियो निर्माणको लागत बढेको छ, तर युट्युबबाट हुने आम्दानी घटेकाले लगानीकर्ताहरू नयाँ परियोजनामा लगानी गर्न हिच्किचाइरहेका छन्,’ उनले बताए।

डिजिटल वितरण कम्पनी ओएसआर डिजिटलका रूपेश खड्गीका अनुसार विगतको तुलनामा नयाँ गीत सार्वजनिक हुने संख्या करिब ४० प्रतिशतले घटेको छ। उनका अनुसार दर्शकको ध्यान अहिले युट्युबभन्दा फेसबुक रिल्स, टिकटक र युट्युब शर्ट्सतर्फ बढी केन्द्रित भएको छ।

खड्गीले विदेशमा रहेका नेपाली स्रष्टा र लगानीकर्ताको विश्वास घट्नु पनि अर्को प्रमुख कारण भएको बताए। ‘नेपालमा लगानीको पारदर्शिता नहुँदा धेरै लगानीकर्ताले पैसा पठाउन छाडेका छन्। यसले नयाँ गीत–संगीत निर्माणमा प्रत्यक्ष असर गरेको छ,’ उनले भने।

लोकगायक तथा सर्जक कस्तुप पन्तले एआईको अनधिकृत प्रयोग र पाइरेसीले मौलिक सिर्जनामाथि गम्भीर असर पारेको बताए। उनका अनुसार एआईमार्फत सिर्जना गरिएका सामग्रीले वास्तविक स्रष्टाको आम्दानी घटाएको छ भने बौद्धिक सम्पत्तिको संरक्षणका लागि स्पष्ट सरकारी नीति नहुँदा सर्जकहरू निराश छन्।

‘स्रष्टाको मात्र होइन, लगानीकर्ताको सुरक्षा पनि उत्तिकै आवश्यक छ। प्रोड्युसर सुरक्षित नभएसम्म नयाँ सिर्जनामा लगानी बढ्दैन,’ उनले बताए।

यता रेकर्डिङ स्टुडियो सञ्चालक तथा संगीतकर्मी विपिन आचार्यले एआईलाई अवसर र चुनौती दुवैका रूपमा हेर्छन्। उनका अनुसार अहिले धेरै गीतकारले प्रारम्भिक धुन र ट्रयाक एआईबाट तयार गरेर स्टुडियोमा ल्याउने गरेका छन्।

‘एआईले काम सहज बनाएको छ, तर यसले संगीतको मौलिकता, गुणस्तर र सिर्जनात्मक प्रक्रियामाथि दीर्घकालीन प्रभाव पार्न सक्छ,’ उनले भने।

संगीतकर्मीहरूका अनुसार नेपाली गीत–संगीत उद्योगलाई पुनः चलायमान बनाउन लगानीको वातावरण सुधार, बौद्धिक सम्पत्तिको प्रभावकारी संरक्षण, डिजिटल प्लेटफर्मबाट हुने आम्दानीको सुनिश्चितता र एआई प्रयोगसम्बन्धी स्पष्ट नीति आवश्यक रहेको उनीहरूको धारणा छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका