चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टीको महाधिवेशनमा सहमतिका आधारमा नेतृत्व चयन गर्ने प्रयास भइरहेको बताएका छन्।
महाधिवेशन उद्घाटनस्थलमा शुक्रबार साँझ सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टीभित्र एकता कायम राख्दै सम्मानजनक ढंगले नेतृत्व चयन गर्ने वातावरण बनाउन नेतृत्व निरन्तर प्रयासरत रहेको बताए।
उनले सबै नेता तथा कार्यकर्ता एकै ठाउँमा उभिएकै कारण पार्टीले ठूलो जनसमर्थन प्राप्त गर्न सफल भएको उल्लेख गर्दै महाधिवेशनबाट पनि सबैलाई समेट्ने प्रयास भइरहेको बताए।
महामन्त्री शाहले सहमतिका लागि अधिकतम प्रयास भइरहेको भन्दै सहमति सम्भव नभए लोकतान्त्रिक प्रक्रियाअनुसार प्रतिस्पर्धामार्फत नेतृत्व चयन हुने स्पष्ट पारे।
उनले महाधिवेशनलाई पार्टी जीवनको सबैभन्दा महत्वपूर्ण पर्वका रूपमा लिइएको बताए।
चितवनलाई महाधिवेशन स्थलका रूपमा छनोट गर्नुको कारणबारे उनले पार्टीको स्थापना र उदयसँग चितवनको विशेष सम्बन्ध रहेको बताए। उनका अनुसार आन्दोलनको जगबाट जन्मिएको रास्वपाका लागि चितवन उद्गमस्थल भएकाले महाधिवेशन यहीँ आयोजना गर्ने निर्णय गरिएको हो।
रास्वपाको केन्द्रीय महाधिवेशन भरतपुरमा असार ७ देखि ९ गतेसम्म सञ्चालन हुनेछ। महाधिवेशनको उद्घाटन पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहले गर्ने कार्यक्रम रहेको छ।
महामन्त्री शाहले महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिँदै विभिन्न उपसमितिसँग समन्वय गरी आवश्यक व्यवस्थापनको काम भइरहेको बताए।


