काठमाडौं । इरानको राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अमिर घालेनोईले आफ्नो टोलीले फिफा विश्वकप २०२६ का क्रममा असामान्य प्रशासनिक र यात्रा चुनौतीहरू सामना गरिरहेको बताएका छन्।
बीबीसी पर्सियन सेवाका अनुसार न्युजिल्याण्डविरुद्धको खेलपछि आयोजित पत्रकार सम्मेलनमा घालेनोईले इरानी टोलीलाई अमेरिकामा सीमित समय मात्र बस्न दिइएको विषयमा असन्तुष्टि व्यक्त गरेका थिए।
“उनीहरूले हामीलाई दुई हप्ताअघि नै वातावरणसँग घुलमिल हुन आउन दिएनन्, र अहिले खेलपछि आराम गर्न दिनुको सट्टा तुरुन्तै फर्कन भनिएको छ,” उनले भने।
इरानी टोलीलाई अमेरिका छोड्नुपरेको विषयमा सोधिएको प्रश्नको जवाफ दिँदै घालेनोईले भने, “इरानी टोली सम्भवतः विश्वकपको इतिहासमै सबैभन्दा बढी कठिनाइ भोगिरहेको टोली हो।”
उनले खेलका क्रममा टोलीलाई समर्थन गर्न स्टेडियममा उपस्थित इरानी समर्थकहरूलाई धन्यवाद दिएका थिए। साथै, मेक्सिकोको तिजुआनामा बसाइँका क्रममा आत्मीयता र सहयोग गरेको भन्दै मेक्सिकन जनताप्रति पनि आभार व्यक्त गरे।
विश्वकपको समूह ‘जी’ अन्तर्गत इरान र न्युजिल्याण्डबीच भएको खेल २–२ को बराबरीमा सकिएको थियो। खेलमा न्युजिल्याण्डले दुई पटक अग्रता लिए पनि इरानले दुवै पटक पुनरागमन गर्दै एक–एक अंक बाँड्न सफल भएको थियो।
इरानका लागि रामिन रेजाइयान र मोहम्मद मोहेब्बीले एक–एक गोल गरेका थिए। बराबरीसँगै दुवै टोलीले समूह चरणको सुरुआत एक–एक अंकसहित गरेका छन्।


