Tuesday, June 16, 2026
Homeअपराध र घटनामोरङको सुनचाँदी पसल ठगी प्रकरणमा थप ११ पीडितको उजुरी, करोडौँ रुपैयाँ हिनामिना...

मोरङको सुनचाँदी पसल ठगी प्रकरणमा थप ११ पीडितको उजुरी, करोडौँ रुपैयाँ हिनामिना भएको आरोप

विराटनगर । मोरङको कानेपोखरी–६ स्थित रमाइलो बजारमा सञ्चालित ‘शुभलक्ष्मी अधिकारी सुनचाँदी पसल’का सञ्चालकबाट रकम ठगिएको भन्दै थप ११ जना पीडितले जिल्ला प्रशासन कार्यालय मोरङमा संयुक्त उजुरी दर्ता गराएका छन्।

असार १ गते दर्ता गरिएको उजुरीमा पसल सञ्चालक होमनाथ अधिकारी, उनकी पत्नी बाटुलादेवी अधिकारी, छोराहरू ध्रुव र मनोज अधिकारी तथा परिवारका अन्य सदस्यहरूले बचतकर्ताहरूको रकम हिनामिना गरेको आरोप लगाइएको छ।

यसअघि जेठ ७ गते स्थानीय विष्णुमाया गिरीले आफूबाट २९ लाख १७ हजार रुपैयाँ ठगी भएको दाबी गर्दै किटानी जाहेरी दिएकी थिइन्।

उजुरी दिन पुगेका अधिकांश पीडितले जीवनभरको बचत गुमाएको बताएका छन्। उनीहरूका अनुसार वृद्धभत्ता, उपचार खर्च, वैदेशिक रोजगारीबाट बचत गरिएको रकम तथा दैनिक श्रमबाट जम्मा गरिएको रकम फिर्ता नपाउँदा आर्थिक संकटमा परेका छन्।

पीडित दुर्गामाया मंग्रातीले आफू र आफ्ना बुबा वीरबहादुर बयलकोटीले जम्मा गरेको रकम फिर्ता नपाएको बताइन्। उनका अनुसार वृद्धभत्ताको रकम समेत उक्त पसलमा राखिएको थियो।

७४ वर्षीय नारायण धिमालले आफू क्यान्सरको उपचार गराइरहेको अवस्थामा बचत गरेको २ लाख ६५ हजार रुपैयाँ फिर्ता नपाउँदा उपचारमा समस्या परेको गुनासो गरे। उनले चुरोट–सुर्ती बिक्री गरेर जम्मा गरेको रकम डुबेको बताए।

त्यस्तै, गंगाबहादुर गुरुङ र उनकी पत्नी डेगमाया गुरुङले करिब ११ लाख रुपैयाँ तथा बलमाया गुरुङले १६ लाख ५० हजार रुपैयाँ बचत गरेको रकम फिर्ता नपाएको बताएका छन्। दिलमाया धिमालले पनि आफ्नी बहिनीको ४ लाख ६९ हजार ६९७ रुपैयाँ उक्त पसलमा राखिएको जानकारी दिइन्।

जिल्ला प्रशासन कार्यालयमा दर्ता गरिएको निवेदनमा अर्जुन संग्रौला, नारायण धिमाल, हरि पौडेल, दिलमाया धिमाल, छलीमाया संग्रौला, वीरबहादुर बयलकोटी, दुर्गामाया मंग्राती, बख्रेलाल धिमाल, कलवाती गुरुङ, सलबहादुर गुरुङ तथा गंगाबहादुर–डेगमाया गुरुङको नाम उल्लेख गरिएको छ।

पीडितहरूका अनुसार करिब २५० भन्दा बढी सर्वसाधारणको झन्डै १२ करोड रुपैयाँ हिनामिना भएको आशंका गरिएको छ। घटनापछि सञ्चालक पक्ष विदेश पलायनको तयारीमा रहेको आरोप समेत लगाइएको छ।

प्रशासनले घटनाबारे अनुसन्धान जारी रहेको जनाएको छ। पीडितहरूले दोषीमाथि कानुनी कारबाही गरी आफ्नो बचत रकम फिर्ता गराउन माग गरेका छन्।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका