काठमाडौं । विभिन्न आठ विश्वविद्यालयका उपकुलपति नियुक्तिका लागि आवेदन दिएका उम्मेदवारमध्ये अल्पसूची (सर्टलिस्ट) मा परेका उम्मेदवारहरूको नामावली सार्वजनिक गरिएको छ।
उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले शुक्रबार बसेको बैठकमार्फत त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय तथा राजर्षि जनक विश्वविद्यालयका लागि सर्टलिस्ट सार्वजनिक गरेको हो।
सरकारले पहिलोपटक ‘विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि, २०८३’ अनुसार एकीकृत प्रक्रियाबाट नियुक्ति प्रक्रिया अघि बढाएको जनाएको छ।
सर्टलिस्ट अनुसार त्रिभुवन, पूर्वाञ्चल, पोखरा, राजर्षि जनक, मध्यपश्चिम तथा कृषि तथा वन विज्ञान विश्वविद्यालयका लागि समान १०/१० जना उम्मेदवार छनोट भएका छन् भने लुम्बिनी बौद्ध विश्वविद्यालयका लागि ७ जना उम्मेदवार सर्टलिस्टमा परेका छन्।
सार्वजनिक गरिएको अल्पसूचीमा रहेका उम्मेदवारबारे जेठ २५ गतेभित्र राय तथा सुझाव दिन सकिने व्यवस्था गरिएको छ। प्राप्त सुझाव र मूल्याङ्कनका आधारमा अन्तिम सिफारिस प्रक्रिया अघि बढाइने जनाइएको छ।
उपकुलपति पदका लागि कुल २१८ आवेदन परेका थिए। प्रारम्भिक मूल्याङ्कनपछि विज्ञ समितिले दिएको अंकका आधारमा सर्टलिस्ट तयार गरिएको मन्त्रालयले जनाएको छ।
सरकारले गत वैशाख २४ गते आठ विश्वविद्यालयमा रिक्त उपकुलपति पदका लागि आवेदन आह्वान गरेको थियो। नयाँ कार्यविधिअनुसार नियुक्ति प्रक्रियामा पारदर्शिता, योग्यता प्रणाली तथा प्रक्रियागत निष्पक्षता सुनिश्चित गर्न विज्ञ समितिमार्फत प्रारम्भिक छनोटको व्यवस्था गरिएको छ।


