काठमाडौँ । अभिनेता सागर लम्साल ‘बले’को १७ वर्ष लामो कलाकारिता यात्रा सामाजिक सञ्जालमा आएको एक आरोपका कारण गम्भीर मोडमा पुगेको छ। अमेरिकामा बस्ने एक युवतीले लगाएको बलात्कार आरोपपछि प्रहरी हिरासतमा रहेका उनले आफ्नो दशकौँको प्रतिष्ठा क्षणभरमै ध्वस्त भएको बताएका छन्।
हिरासतमा रहेका सागरलाई भेट्न पुगेका निर्देशक राजु गिरीका अनुसार उनी आफ्नो वर्तमान अवस्था र बिग्रिएको छविलाई सम्झेर भावुक बनेका थिए। सागरले भने, “दाइ, मेरो १७ वर्षको मेहनत आज १७ सेकेन्डमै गयो।”
गिरीका अनुसार सागरले आफ्नो लामो संघर्ष एकैपटक समाप्त भएको अनुभूति गर्दै आँसु झारेका थिए। गिरीले भने, “उनको अवस्था देखेर म पनि भावुक भएँ। मैले उनलाई सत्यको जित हुन्छ भनेर सम्झाएँ।”
यस घटनामा हालसम्म कुनै औपचारिक किटानी जाहेरी दर्ता भएको छैन। सामाजिक सञ्जालको पोस्टकै आधारमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। जाहेरी नपरेका कारण उनलाई बलात्कारसम्बन्धी मुद्दामा नभई शान्ति सुरक्षा सम्बन्धी कसुरमा अनुसन्धान गर्न काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले ५ दिनको म्याद दिएका छन्।
निर्देशक गिरीले बिना जाहेरी प्रहरीले देखाएको सक्रियता र कानुनी प्रक्रियामाथि प्रश्न उठाएका छन्। उनका अनुसार दोषी प्रमाणित नभएसम्म कसैलाई अपराधी जस्तो व्यवहार गर्नु उचित हुँदैन।
यस घटनापछि सागरको व्यावसायिक जीवनमा ठूलो असर परेको छ। उनी छायाङ्कनमा संलग्न रहेको फिल्म ‘पाँच पाण्डव’ बाट हटाइएका छन्।
त्यस्तै, उनी मुख्य भूमिकामा रहेको र राजु गिरीकै निर्देशनमा तयार भएको फिल्म ‘डल्लेले इन्ट्री मार्यो’ को भविष्य पनि अन्योलमा परेको छ। मुख्य कलाकार नै कानुनी विवादमा परेपछि फिल्म रिलिज अनिश्चित बनेको निर्देशक गिरीले बताएका छन्।


