काठमाडौं। देश निर्वाचनको संघारमा उभिएको छ। राजधानीबाट मतदानको उत्साह बोकेर गृहजिल्ला फर्किनेहरूको चहलपहल बढिरहेको छ। तर इटहरीका सन्तोष तामाङका लागि परिस्थिति बिल्कुल फरक बनेको छ। हातमा पासपोर्ट र हवाई टिकट लिएर उनी चार दिनदेखि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल धाइरहेका छन्। प्रत्येक दिन उडान रद्द भएको सूचना पाएपछि निराश हुँदै फर्किनुपर्ने बाध्यता उनको छ।
रोमानियामा कार्यरत तामाङ दुई महिनाको घर बिदा सकेर पुनः फर्किने तयारीमा थिए। तर मध्यपूर्व क्षेत्रमा बढेको द्वन्द्वका कारण उडान अनिश्चित भएपछि उनी न घर फर्किन सकेका छन्, न विदेश जान।
“उडानको टुंगो छैन। हरेक २४ घण्टामा अवस्था बुझ्न विमानस्थल आउनुपर्छ। यस्तो अवस्थामा न भोट हाल्न घर जान सकिन्छ, न उडान नै हुन्छ। निकै अप्ठ्यारोमा परें,” उनले गुनासो गरे।
कैलालीको टीकापुरका प्रदीप रावलको अवस्था पनि उस्तै छ। उनलाई बिदाइ गर्न आमा र हजुरआमा चार दिनअघि विमानस्थल आएका थिए। “छोरो विदेश जाँदैछ भनेर आमा रुँदै घर फर्किनुभयो, तर म भने अझै यहीँ अल्झिएको छु,” उनले भने।
रावलले थपे, “घर फर्केर भोट हाल्न मन छ, तर उडान अचानक खुल्यो भने छुट्ने डर छ। दुवैतिर फसिएको छु।”
देशको प्रतिनिधि चुन्ने आफ्नो नैसर्गिक अधिकार प्रयोग गर्ने चाहना हुँदाहुँदै पनि परिस्थितिले साथ नदिएको भन्दै उनले दुःख व्यक्त गरे। “पहिला विदेश हुँदा भोट हाल्न पाइएन, अहिले स्वदेशमै हुँदा पनि अवसर जुरेन,” उनले भने।
अमेरिका–इजराइल र इरानबीच बढ्दो तनावपछि मध्यपूर्वका खाडी मुलुकमा जाने नेपाली श्रमिकहरू प्रत्यक्ष प्रभावित भएका छन्। विदेशमा रहेका नेपालीहरू सुरक्षाको चिन्तामा छन् भने नेपालबाट प्रस्थानको तयारीमा रहेकाहरू उडान हुने–नहुने अन्योलमा छन्।
भोजपुरका कुलबहादुर विश्वकर्मा सोमबारसम्म दुबई पुगिसक्नुपर्ने थियो। तर कहिले पुग्ने भन्ने अनिश्चित छ। “काममा ढिला भयो, घर पनि फर्किन सकिँदैन। सबै जना भोट हाल्न घर जाँदा मन खिन्न भएको छ,” उनले भने।
नेपाल वैदेशिक रोजगार सङ्घका अध्यक्ष भुवनकुमार गुरुङले युद्धका कारण केही उडान अनिश्चितकालका लागि रद्द भएको जानकारी दिए। “तुरुन्तै उडान खुल्ने सम्भावना छैन। घर फर्किएर पर्खन सकिन्छ। तर आफ्नो कम्पनीसँग सम्पर्कमा रहनु आवश्यक छ,” उनले सुझाव दिए।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार मध्यपूर्व क्षेत्रका कतार, युएई, कुवेत, इरान, इराक, इजरायल, जोर्डन, लेबनान र बहराइनका विमानस्थलहरू अस्थायी रूपमा बन्द गरिएका छन्।
सरकारी तथ्याङ्कअनुसार खाडी मुलुकहरूमा करिब १९ लाख नेपाली श्रमिक कार्यरत छन्। तीमध्ये कतारमा तीन लाख ५७ हजार ९१३, साउदी अरबमा तीन लाख ८४ हजार ८६५ र संयुक्त अरब इमिरेट्समा करिब सात लाख नेपाली छन्। कुवेतमा एक लाख ७५ हजार, बहराइनमा २८ हजार, ओमनमा २५ हजार, इराकमा ३० हजार, साइप्रसमा १७ हजार, लेबनानमा एक हजार ५००, इजरायलमा छ हजार ५०० र इरानमा छ जना नेपाली कार्यरत रहेको तथ्याङ्क छ।
उडान अवरुद्ध भएपछि हजारौं नेपाली श्रमिकहरू न विदेश जान पाएका छन्, न आफ्नो मताधिकार प्रयोग गर्न। युद्धको प्रभावले रोजगारी र लोकतान्त्रिक अधिकार दुवैमा असर पुर्याएको छ।


